अस्टिन (टेक्सास)। अमेरिकाको टेक्सासस्थित अस्टिन र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि तीन दिनसम्म छठ पर्व मनाउँदै छन्। अस्टिन छठ पूजा समिति र ग्रेटर अस्टिन नेपाली सोसाइटी (GANS) को संयुक्त आयोजनामा नोभेम्बर १४ देखि १६ तारिखसम्म कार्यक्रम हुनेछ। उपाध्यक्ष धिरेन्द्र यादवका अनुसार, आयोजकले सबै नेपाली परिवारलाई सहभागी हुन निमन्त्रणा गरेका छन्।
कार्यक्रम तालिका
नोभेम्बर १४, शनिबार: खरनाबाट पर्वको औपचारिक सुरुवात। स्थान: 1736 Tigs Trails, Leander, TX।
नोभेम्बर १५, आइतबार: दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म पूजा तथा धार्मिक अनुष्ठान, र अस्ताउँदो सूर्यलाई अर्घ्य। स्थान: 1251 Co Rd 138, Hutto, TX 78634।
नोभेम्बर १६, सोमबार: बिहान ५ बजेदेखि ९ बजेसम्म उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पूजा सम्पन्न। स्थान: आइतबारकै ठाउँ।
छठ पर्व सूर्यदेव र छठी माताको आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। यसले धार्मिक आस्थासँगै पारिवारिक एकता, सामाजिक सद्भाव र नेपाली संस्कृतिको संरक्षणमा योगदान पुर्याउँदै आएको छ।
विदेशमा रहेर पनि मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले समुदायबीच आपसी एकता र आत्मीयता बढाउने अपेक्षा गरिएको छ। कार्यक्रम स्थलसम्म पुग्न आयोजकले उपलब्ध गराएको पोस्टरको QR कोड स्क्यान गर्न सकिनेछ।
आयोजकले पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै सूर्यदेव र छठी माताको कृपा सबैको घरपरिवारमा रहिरहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij