२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

२०८३ कार्तिक २५ मंगलबार

एनभिडिया प्रमुख र कथित चिनियाँ जासुसको सम्बन्धबारे एफबीआई अनुसन्धानमा

एनभिडिया प्रमुख र कथित चिनियाँ जासुसको सम्बन्धबारे एफबीआई अनुसन्धानमा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ र कथित चिनियाँ जासुस एलिस हुआङबीचको सम्बन्धबारे संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान गरिरहेको बताएका छन्।

ट्रम्पले सोमबार जेन्सेन हुआङसँग यस विषयमा कुराकानी गरेको जानकारी दिएका हुन्। अमेरिकाले चिनियाँ जासुसी अभियानमार्फत एनभिडिया प्रमुखलाई लक्षित गरिएको आशङ्का गरिरहेका बेला आफूले हुआङसँग कुरा गरेको उनले बताए।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले जेन्सेनलाई ती महिला जासुस हुन् भन्ने थाहा थियो कि थिएन भनेर सोधेको बताए। जवाफमा हुआङले आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताएको र आफूले उनको भनाइमा विश्वास गरेको ट्रम्पको भनाइ छ।

ट्रम्पले एफबीआईले अनुसन्धान गरिरहेको पुष्टि गरे पनि अनुसन्धान कहिले सुरु भएको हो र त्यसको दायरा कति छ भन्नेबारे खुलाएनन्। बीबीसीका अनुसार एफबीआईले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

द न्युयोर्क टाइम्स का अनुसार अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस हुआङ (हुआङ ले) लाई चीनका लागि जासुसी गरेको आशङ्का गरेका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत वसन्तमा वासिङ्टनका उच्च अधिकारीहरूलाई ज्ञापनपत्र पठाउँदै एनभिडिया प्रमुख र ती महिलाबीच निकट सम्बन्ध रहेकोबारे सचेत गराएका थिए।

एलिस हुआङ सिंगापुरस्थित मेगास्पिड कम्पनीकी प्रबन्ध निर्देशक थिइन्। उक्त कम्पनीले एनभिडियासँग व्यावसायिक कारोबार गर्दै आएको थियो। एलिस र जेन्सेन हुआङबीच भने पारिवारिक सम्बन्ध छैन।एनभिडियाले यस प्रकरणबारे स्वतन्त्र अनुसन्धान गराउन थालेको जनाएको छ। कम्पनीले आफ्नो व्यापारिक गोपनीयता वा राष्ट्रिय सुरक्षामा कुनै असर परेको विश्वास गर्ने आधार नरहेको स्पष्ट पारेको छ।

चीनले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेको छ। चिनियाँ विदेश मन्त्रालयले आरोपहरू पूर्णतः आधारहीन, अनुमानमा आधारित र चीनको छवि बिगार्ने उद्देश्यले लगाइएको जनाएको छ।

विश्वकै दोस्रो मूल्यवान् कम्पनी एनभिडिया कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा प्रयोग हुने चिप डिजाइन गर्ने प्रमुख कम्पनी हो। अमेरिका र चीनबीच एआई प्रविधिमा प्रतिस्पर्धा बढिरहेका बेला एनभिडियाका उत्पादन चीन निर्यात गर्ने विषयलाई अमेरिकी अधिकारीहरूले राष्ट्रिय सुरक्षासँग जोडेर हेर्ने गरेका छन्।

यस प्रकरण सार्वजनिक भएपछि सोमबार एनभिडियाको सेयर मूल्य चार प्रतिशतभन्दा बढीले घटेको थियो। त्यससँगै कम्पनीको बजार मूल्य करिब २५० अर्ब अमेरिकी डलरले घटेको बीबीसीले जनाएको छ।

यसैबीच, जेन्सेन हुआङ र एनभिडियाविरुद्ध क्यालिफोर्नियामा सामूहिक मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाइएको छ। मुद्दामा कम्पनीले संदिग्ध चिनियाँ जासुससँगको सम्बन्ध लुकाएर आफ्ना सेयरधनीलाई झुक्याएको आरोप लगाइएको छ।

मुद्दामा एलिस हुआङले एनभिडियाका उत्पादन अवैध रूपमा चीन पु¥याउन सहयोग गर्न खोजेको आशङ्का गरिएको र कम्पनीले उनीसँगको जेन्सेन हुआङको सम्बन्धबारे सञ्चारमाध्यमलाई गलत जानकारी दिएको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij