२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। उनको आज बिहान २ः४२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका अन्य १२ जनाको पोखरास्थित जीएमसी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांश किशोरकिशोरी रहेका छन्। उनीहरू ११ देखि २० वर्ष उमेर समूहका छन्।

घाइते हुनेमा पोखरा–२३ घाटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवस पराजुली तथा कार्कीको तगराका १४ वर्षीय अमित सुनार, १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री रहेका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ।गएराति करिब ९ः४० बजे पर्वतको पैयुँ गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुर गुरुङले चलाएको ग ४ च १३४४ नम्बरको बोलेरो जिप घाटीछिनाबाट पोखरातर्फ आउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनापछि प्रहरीले चालक टोकबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा चालकले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्र रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij