२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

अमेरिकामा ममता काफ्ले हत्या प्रकरणः पति नरेश भट्ट दोषी ठहर

अमेरिकामा ममता काफ्ले हत्या प्रकरणः पति नरेश भट्ट दोषी ठहर

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी ममता काफ्लेको हत्या गरेको अभियोगमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। अदालतको जुरीले मंगलबार भट्टलाई प्रथम दृष्टि हत्या तथा शव लुकाएको अभियोगमा दोषी ठहर गरेको हो ।

करिब ६ सातासम्म चलेको सुनुवाइपछि आएको फैसलामा भट्टलाई दोषी ठहर गरिएको हो । भट्टले गत साता अदालतमा दिएको बयानमा ममताको शव टुक्राटुक्रा पारेको र फोहोरमा फालेको स्वीकार गरेका थिए। तर, उनले ममताको हत्या नगरेको र आफू घर पुग्दा उनी मृत भेटिएको दाबी गरेका थिए।

भट्टले ममताले आत्महत्या गरेको हुन सक्ने जिकिर गर्दै आफूले उनलाई बचाउने प्रयास गरेको बताएका थिए। तर, अभियोजन पक्षले उनको दाबीलाई झूटो र बनावटी कथा भन्दै अस्वीकार गर्न जुरीलाई आग्रह गरेको थियो।

अन्तिम बहसका क्रममा वरिष्ठ सहायक अभियोजनकर्ता सारा सामीले भट्टले ममताको हत्या गरेर शव टुक्राटुक्रा पारेको र फोहोरमा फालेको बताइन्। उनका अनुसार ममताको शव भर्जिनियाको लुरे क्षेत्रस्थित फोहोर व्यवस्थापनस्थलमा फालिएको थियो।

सन् २०२४ जुलाईमा भर्जिनियाको मनासस पार्कस्थित आफ्नै घरबाट बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन।
प्रथम श्रेणीको हत्या अभियोगमा दोषी ठहर भएका भट्टलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। शव लुकाएको र विकृत बनाएको अभियोगमा प्रत्येकमा थप पाँच वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ। उनलाई आगामी मार्चमा सजाय सुनाइनेछ।

फैसलापछि अदालतबाहिर भेला भएका ममताका साथीभाइ तथा स्थानीय नेपाली समुदायका सदस्यले खुसी व्यक्त गरेका थिए। उनीहरूले ८३२ दिनपछि न्याय प्राप्त भएको प्रतिक्रिया दिएका थिए।

सुनुवाइका क्रममा भट्टले ममताको शव आराले टुक्राटुक्रा पारेर घरको फोहोर राख्ने डब्बामा अट्ने बनाएको बताएका थिए। उनले ममताको शव फोहोरमा फालेको स्वीकार गरे पनि निगरानी क्यामेरामा देखिएका झोलामा शवका अवशेष नभई ममताका व्यक्तिगत सामान मात्रै रहेको दाबी गरेका थिए।

अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेका निगरानी क्यामेराका दृश्यमा भट्ट पञ्जा लगाएर विभिन्न फोहोर फाल्ने स्थानमा झोलाहरू फाल्दै गरेको देखिएका थिए।यसअघि ममता बेपत्ता भएपछि भट्टले उनी घर छाडेर गएको र सम्भवतः न्युयोर्क वा टेक्सास पुगेको बताएका थिए । तर, अदालतमा दिएको पछिल्लो बयानमा उनले ममताको शव आफैँले व्यवस्थापन गरेको स्वीकार गरेका थिए।

जिरहका क्रममा अभियोजनकर्ता म्याथ्यु स्वीटले भट्टलाई झूट बोलेको आरोप लगाएका थिए। त्यसमा भट्टले आफूले झूट बोलेको स्वीकार गरेका थिए। भट्टका बचाउ पक्षका वकिल ट्रेसी लेनक्सले भने अभियोजन पक्षको दाबीमा उचित शङ्का रहेको जिकिर गर्दै उनलाई निर्दोष ठहर गर्नुपर्ने तर्क गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij