२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

ममतालाई सम्झँदै, ‘सहेर बस’ भन्ने समाजलाई प्रश्न

ममतालाई सम्झँदै, ‘सहेर बस’ भन्ने समाजलाई प्रश्न

ममता काफ्लेको तस्बिर हेर्नुस् त। कति खुलेर हाँसेकी छन्। आफ्नो सीप र मेहनतले परदेशमा जीवन बनाउँदै गरेकी एउटी नेपाली छोरीलाई आज हामी त्यही मुस्कानमा सम्झिरहेका छौँ। उनको मृत्युको खबरले मन दुखाउँछ। त्यही दुःखबीच मलाई हाम्रै घरआँगनमा बारम्बार सुनिने एउटा वाक्य सम्झना आउँछ, ‘अलिकति सहेर बस न, छोरी।’

एउटी छोरीले ‘उसले मलाई कुट्यो’ भनेर बल्लतल्ल सुनाउँछे। जवाफ आउँछ, ‘घरमा कहिलेकाहीँ झगडा भइहाल्छ नि।’ ‘रिसको झोकमा हात उठायो होला, बिर्सिदेऊ।’ ‘ऊ रिसाएका बेला तिमी नबोल्नू, एकछिनमा आफैँ शान्त हुन्छ।’ कसैले त उल्टै सोध्छ, ‘तिमीले अलि राम्रोसँग बोलेको भए कुरा यतिसम्म पुग्थ्यो र?’ हात उठाउने मान्छेसँग गर्नुपर्ने प्रश्न कुटाइ खाने छोरीतिर फर्किन्छ।

त्यसमाथि हजुरआमाहरूको उदाहरण दिइन्छ। ‘उहाँहरूले कति कुरा सहेर घर चलाउनुभयो। आजभोलिका केटीहरू त केही सहनै सक्दैनन्।’ हजुरआमाहरूले कति सहनुभयो भन्ने कथा हामी सुनाउँछौँ। त्यतिबेला उहाँहरूलाई आफ्नै पीडा सुनाउने ठाउँ कति थियो, माइती फर्किने बाटो कति खुला थियो, आफ्नै कमाइमा बाँच्ने अवसर कति थियो भन्ने कुरा कमै गर्छौँ। उहाँहरूले सहनुपरेको पीडालाई आजकी छोरीको कर्तव्य किन बनाउँछौँ?

माइती सात समुद्रपारि छ भने घर छोड्ने निर्णयसँगै अरू धेरै प्रश्न आउँछन्। आज राति कहाँ बस्ने? छोराछोरीलाई कसरी सम्हाल्ने? भोलिदेखि गुजारा कसरी चलाउने? आमाबुबालाई पीर पर्ला भनेर कतिपय छोरी मनको कुरा मनमै राख्छन्। हिम्मत गरेर सुनाउँदा पनि ‘एकपटक फेरि मिलेर हेर’ भन्ने जवाफ आयो भने, फोन राखेपछि त्यो रात कसरी काट्ने भन्ने चिन्ता उसैको भागमा पर्छ।

कुनै दिन उसले आफ्नै खुट्टामा उभिने आँट गर्छे। काम खोज्छे, सानो व्यापार थाल्छे। फेरि सोधिन्छ, ‘कसको भरमा यति आँट गरी?’ ‘कसले सघायो?’ उसको मेहनतबारे कुरा हुनुअघि नै ‘यस्तो हो रे, त्यस्तो हो रे’ भन्ने हल्ला चल्छ। कहिलेकाहीँ त्यो हल्ला उसले काम गर्ने ठाउँसम्म पुग्छ। परिवारको इज्जत सम्झाएर उसलाई हिंसा सहन लगाउने हामी, ऊ आफ्नै कमाइमा बाँच्न खोज्दा पनि किन उसको चरित्रमाथि औँला उठाउँछौँ?

कुनै महिलाले आत्महत्याबाट ज्यान गुमाएको खबर सुन्दा हामी सोध्छौँ, ‘उसले किन त्यस्तो गरी?’ त्यति बेला आफ्नै व्यवहारबारे पनि सोधौँ। कसैले आफ्नो पीडा सुनाउँदा हामीले ध्यान दिएर सुन्यौँ कि ‘यति कुराले पनि के फरक पर्छ र?’ भन्यौँ? ऊ गरिखाने बाटो खोज्दै गर्दा उसको हात समात्यौँ कि उसकै बारेमा चलेको हल्लामा अर्को कुरा थप्यौँ?

ज्यान गएपछि ‘हार्दिक श्रद्धाञ्जली’ लेख्न केही सेकेन्ड लाग्छ। बाँच्न खोजिरहेकी छोरीको पक्षमा उभिन भने कहिलेकाहीँ आफ्नै आफन्तको कुराको विरोध गर्नुपर्छ। वर्षौँदेखि ठीक ठानेको चलनमाथि प्रश्न गर्नुपर्छ। उसलाई हाम्रो साथ चाहिने बेला त्यही हो।

ममताका लागि न्याय माग्दै गर्दा हाम्रै घरबाट एउटा कुरा फेरियोस्। भोलि कुनै छोरीले ‘म त्यहाँ सुरक्षित छैन’ भनी भने, उसले आफ्नो कुरा प्रमाणित गर्नुअघि सुरक्षित बस्ने ठाउँ पाओस्। आफन्तलाई के जवाफ दिने भन्ने कुरा पछि गरौँला। पहिले उसलाई भनौँ, ‘यो घर तिम्रो पनि हो, छोरी। तिमी ढुक्कसँग आऊ। आफ्नो बाटो बनाउन हामी तिम्रो साथमा छौँ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij