धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कानुनी प्रक्रिया मात्रै पूरा भएर कैलालीको गेटामा विश्वविद्यालय बन्न नसक्ने बताएका छन् ।
गेटा अस्पतालको निरीक्षणपछि मन्त्री पौडेलले भने, ‘कानुनी प्रक्रिया मात्रै पूरा भएर विश्वविद्यालय बन्दैन ।गेटामा अहिले भएको लगानीको झण्डै दुई-तीन गुणा बढी लगानी आवश्यक पर्छ । अरु पूर्वाधार र जनशक्तिको पनि व्यवस्थापन गर्नुपर्छ ।’
मन्त्री पौडेलले विश्वविद्यालय बनाउने प्रक्रिया निरन्तर अगाडि बढाउने तथा अस्पताल सञ्चालन र एमबीबीएसको अध्यापन पनि सुरु गर्ने तयारी रहेको बताए । मन्त्री पौडेलले गेटामा एमबीबीएसको अध्ययन र तीन सय शय्याको अस्पताल सञ्चालन गर्न पार्टी सभापति शेरबहादुर देउवाले पनि निर्देशन दिएको बताए । ‘म मन्त्री भएपछि सभापतिले बोलाएर गेटमा तीन सय शय्याको अस्पताल छिटो चलाउनु भन्नुभएको थियो,’ उनले भने, ‘उहाँले सबै प्रदेशमा एमबीबीएसको पढाइ सुरु भयो मेरो प्रदेशमा भएको छैन । मेरो प्रदेशमा पनि सुरु गर्नुस् भनेर मलाई निर्देशन दिनुभएको थियो ।’
आगामी असारदेखि एमबीबीएसको पढाइ सुरु गर्न प्रक्रिया अगाडि बढाइएको मन्त्री पौडेलले बताए । ‘लक्ष्य तीन सय शय्याको हो । तर, सकिएन भने असारसम्म गेटालाई एक सय शय्याको अस्पताल जसरी पनि बनाउँछौँ,’ उनले भने, ‘६ प्रदेशमा एमबीबीएसको पढाइ भइसकेकाले सुदूरपश्चिममा पनि पढाइ सुरु हुन सक्छ । तीन सय शय्याको अस्पताल तीन वर्ष नचले पनि विशिष्ट परिस्थितिका कारणले गेटामा एमबीबीएस पढाइ सञ्चालन गरिएको छ भनेर चिकित्सा शिक्षा आयोगले निर्णय गर्न सक्छ । यो विश्वविद्यालय बनाउने प्रक्रियालाई रोक्न होइन ।’
मेडिकल शिक्षा अध्यापन र ६ सय शय्याको अस्पताल सञ्चालनका लागि गेटामा झण्डै सात अर्बको पूर्वाधार बनाइएको छ । तर, अहिले त्यहाँ ५० शय्याको अस्पताल मात्रै सञ्चालन छ । गेटामै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक राष्ट्रियसभाबाट पास भएर प्रतिनिधिसभामा पेस भएको थियो । प्रतिनिधिसभामा विधेयकमाथि छलफल भएर अहिले दफाबार छलफलका लागि संसदीय समितिमा पठाइएको छ । विधेयकमा विश्वविद्यालयलाई स्वायत्त, स्वशासित र संगठित संस्थाका रूपमा अगाडि बढाइने बताइएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij