२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

आगामी मङ्सिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी

आगामी मङ्सिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी

स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् ।

स्याङ्जाको पुतलीबजारमा सोमबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सभापति थापाले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताए । “कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,” उनले भने, “विश्वास पुनःस्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफैँ आउँछ ।”

सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे बुझाउनुपर्नेमा जोड दिए । विगतमा पार्टीप्रति असन्तुष्टिका कारण टाढिएका मतदाताको विश्वास जित्न वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

१५औँ महाधिवेशनपछि पार्टीभित्र परिवर्तन आएको उल्लेख गर्दै उनले त्यसबारे जनताको घरदैलोसम्म जानकारी पुर्याउन आगामी मङ्सिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

सभापति थापाले महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउँदै जिम्मेवारी पाउने वा नपाउने विषयलाई हारजितका रूपमा बुझ्न नहुने उल्लेख गरे । पार्टीभित्र सबैको समान हैसियत रहेकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij