२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

नेविसंघ केन्द्रीय सदस्य पुजा फुयाँलसहित आधा दर्जन विद्यार्थी नेता पक्राउ

नेविसंघ केन्द्रीय सदस्य पुजा फुयाँलसहित आधा दर्जन विद्यार्थी नेता पक्राउ

काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरु पक्राउ परेका छन् । संसद भवन नयाँ बानेश्वर अगाडि विरोध प्रदर्शन गर्ने क्रममा नेविसंघका आधा दर्जन भन्दाबढी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चितवनको शिशु निकेतनमा अध्ययनरत छात्रा शालीन पोखरेल स्कुलको होस्टलमा मृत्यु भएको घटनाको बास्तविक छानविनको माग गर्दै नेविसंघका नेताहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा केन्द्रीय सदस्यहरु विवेक लामिछाने, बिजेन केसी, सासुदेव न्यौपाने, पुजा फुयाँललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै भक्तपुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियन सदस्य सुदीप ढुङ्गाना, नेविसंघ भक्तपुर जिल्ला सहसचिव मोहन कालाथोकी, नेविसंघ पोखरा विश्वविद्यालयअन्तर्गतको एनसिआइटी कलेजका इकाई अध्यक्ष सन्तोष आचार्य, मोहम्मद अल्ताफलाई प्रहरीले पक्राउ गरेको नेविसंघले जनाएको छ । उनीहरुलाई तीनकुने प्रहरीवृत्तमा राखेको छ ।

फाल्गुन १२ गते चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्ययनरत छात्रा शालीन पोखरेल स्कुलको होस्टलमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । उनको शव भेटिएको पाँच दिनपछि मात्रै पोस्टमार्टम भएको थियो । चितवनमा भएको घटनाको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो ।

मृतक पोखरेलको बलात्कारकापछि हत्या गरिएको आशंका गरिएको छ । तर विद्यालय प्रशासनले आत्महत्या गरेको दावी गर्दै आएको छ । किशोरीले झुण्डिएर आत्महत्या गरेको भनिएको कोठाको ढोका परिवारको रहोवरमा खोल्नुपर्नेमा विद्यालय प्रशासनले नै ढोका फुटाएको खोलेको आफन्तको दावी छ ।

घटनाको प्रकृति हेर्दा किशोरीले झुण्डिएको नभई सुनियोजित रुपमा हत्या गरिएको र आफन्तलाई झुक्याउन झुण्डाइएको परिवारको भनाई छ । किशोरी शालिनको दुबै घुँडाले भुई छोएको थियो भने शरिरमा केही घाउसमेत देखिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। घटना लगत्तै आफन्तले प्रहरीमा उजुरी दिन खोजेपनि प्रहरीले नमानेको परिवारको गुनासो छ ।

चौतर्फी दवावपछि प्रहरीले तीन दिनपछि जाहेरी लिएको थियो । शनिबारको घटना अहिलेसम्म प्रहरी प्रशासनले गम्भीरतापूर्वक नलिनु घटना ढाकछोप गर्न अनेक प्रपञ्च रचेको परिवारको भनाई छ । नेविसंघका केन्द्रीय सदस्य विजय ढुंगानाले निर्मला पन्त प्रकरणजस्तै यो घटनालाई बनाउन प्रहरी प्रशासन नै लागेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij