२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

पेट्रोल, डिजेल र ग्यासको मूल्य यथावत् राख्ने निगमको निर्णय

पेट्रोल, डिजेल र ग्यासको मूल्य यथावत् राख्ने निगमको निर्णय

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन नसकेको निगमले जनाएको छ।

निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले आसन्न चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै हाल कायम खुद्रा बिक्री मूल्य नै यथावत् राख्ने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोल र डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम छ।

त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर २४९ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ।
हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको मूल्य भने काठमाडौंका लागि प्रतिकिलोलिटर १ हजार ४६८ अमेरिकी डलर, भैरहवाका लागि १ हजार ४८४ अमेरिकी डलर र पोखराका लागि १ हजार ४८४ अमेरिकी डलर उल्लेख गरिएको छ।

निगमले मूल्य यथावत् राख्दा पनि हालको अवस्थामा पाक्षिक रूपमा ३ अर्ब २१ करोड ४२ लाख रुपैयाँ घाटा हुने जनाएको छ।
निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा उपभोक्ताको हितलाई प्राथमिकतामा राखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij