काठमाडौँ । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गरी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित भइरहेका यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा आम नागरिकलाई आधिकारिक र तथ्यमा आधारित समाचारमा विश्वास गर्न तथा अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गरिएको छ।
पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम सिर्जना हुनुका साथै सुरक्षा जोखिम बढ्न र प्रहरी संगठनप्रतिको विश्वास, छवि तथा निष्ठामा असर पर्न सक्ने प्रहरीले जनाएको छ। यस्ता अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई आग्रह गरेको छ।
समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको सत्यता सुनिश्चित गर्न पनि प्रहरीले अनुरोध गरेको छ। नागरिकको सत्य र तथ्यपरक सूचना प्राप्त गर्ने अधिकारको सम्मान गर्दै पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ। भ्रामक समाचार तथा स्वार्थकेन्द्रित टिप्पणीबाट प्रभावित नभई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न प्रहरी कर्मचारीलाई पनि निर्देशन दिइएको छ।
सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रहरी प्रतिबद्ध रहेको जनाउँदै संगठनको प्रतिष्ठा, व्यावसायिकता र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना फैलाउने व्यक्तिमाथि कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


© 2026 All right reserved to samajpress.com | Site By : Sobij