२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

एमालेले राष्ट्रिय भेलामा स्थानीय तहको चुनाव जित्ने रणनीति बनाउने

एमालेले राष्ट्रिय भेलामा स्थानीय तहको चुनाव जित्ने रणनीति बनाउने

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलामा पार्टीका विभिन्न तहका नेता तथा प्रतिनिधिसहित कुल ३ हजार ३४७ जना सहभागी हुने भएका छन् । भेलामा वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको मार्गदर्शन, एमालेले गरेका कामहरूको समीक्षा तथा पार्टी सुदृढीकरण र स्थानीय तहको निर्वाचनको कार्ययोजनाबारे छलफल हुने कार्यक्रम तय गरिएको नेता सूर्य थापाले जानकारी दिएका छन् ।

भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘वर्तमान परिप्रेक्ष्यमा पार्टीको राजनीतिक मार्गदर्शन’ विषयमा प्रस्तुति दिनेछन् । त्यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारीले मन्तव्य राख्ने कार्यक्रम छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले गरेका कामहरूबारे प्रस्तुति दिनेछन् भने महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण र स्थानीय तहको निर्वाचन कार्ययोजनाबारे छलफल अघि बढाउनेछन् ।

स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन के गर्नुपर्छ भन्ने विषयमा सहभागीहरूबाट सुझावसमेत संकलन गरिनेछ । त्यसका लागि विशेष फाराम वितरण गरी महत्वपूर्ण सुझाव लिखित रूपमा लिने व्यवस्था मिलाइएको थापाले बताए ।

भेलामा केन्द्रीय कमिटी तथा केन्द्रीय निकायका सदस्य, संघीय र प्रदेशसभा सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, स्थानीय तहका पार्टी कमिटीका अध्यक्ष र उपाध्यक्ष, निर्वाचित मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षलगायत सहभागी हुनेछन् ।

त्यसैगरी प्रवास, सम्पर्क तथा उपत्यका विशेष प्रदेश कमिटीसहित विभिन्न जनसंगठनबाट समेत तोकिएको संख्यामा प्रतिनिधित्व रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij