२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

सानेपामा कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ

सानेपामा कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शपथ गराएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सभापति थापाले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शपथ गराएका हुन् । शपथसँगै नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछ ।

नवनिर्वाचित पार्टी सभापति थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।

गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। महाधिवेशन अन्तर्गत उदघाटन र बन्दसत्र खुल्ला मंचमा भएको थियो भने मतदान खुल्ला मंच र राष्ट्रिय सभागृहमा भएको थियो ।

महाधिवेशनको मतदान गत असोज २३ गते भएको थियो भने त्यहीदिन राति सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो । सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो ।

अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो । १४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उनले बताए । कूल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।

महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वाधिक ९४ प्रतिशत मतसहित निर्वाचित भएका थिए भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् । त्यस्तै महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) सहित समावेशी र प्राज्ञिक चरित्रको बलियो कार्यसमिति चयन भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij