काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित विवरण विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले विज्ञप्ति जारी गरी अनुसन्धान अधिकारीलाई सूचनाको स्रोतका रूपमा सङ्केत गरी अनुसन्धानसँग सम्बन्धित विषयहरू सार्वजनिक गरिएको समाचार तथा सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
प्रहरीका अनुसार उक्त मुद्दाको अनुसन्धान प्रचलित कानुन, विधि र प्रक्रियाबमोजिम गोप्य रूपमा भइरहेको छ । अनुसन्धानका संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको विज्ञप्तिमा उल्लेख छ ।
अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रहरी प्रतिबद्ध रहेको जनाउँदै परिसरले अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना नगरेमा कानुनबमोजिम हुने चेतावनी दिएको छ ।
मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै प्रहरीले त्यस्ता विवरणको आधिकारिकता पुष्टि गर्नसमेत अनुरोध गरेको छ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij