२०८३ मंसिर २ मंगलबार

Nov 17 2026 Tuesday

२०८३ मंसिर २ मंगलबार

युक्रेनी आक्रमणपछि क्रिमिया पुल बन्द

युक्रेनी आक्रमणपछि क्रिमिया पुल बन्द

बीबीसी । युक्रेनको आक्रमणबाट क्षति पुगेको खबर सार्वजनिक भएपछि रुसले कब्जा गरेको क्रिमियालाई रुसी मुख्यभूमिसँग जोड्ने रणनीतिक महत्त्वको केर्च पुल बन्द गरिएको छ । यसैबीच, रुसले युक्रेनको राजधानी किभका दुई प्रमुख पुलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका पूर्वसल्लाहकार एन्टोन गेरास्चेन्कोले क्रिमिया पुलको एउटा भाग भत्किएर पानीमा खसेको देखिने तस्बिर तथा भिडियो सार्वजनिक गरेका छन् । ती दृश्यमा पुलको सपोर्ट आर्च र सडकको केही भाग पानीमा खसेको देखिन्छ । यद्यपि, बीबीसीले ती तस्बिर तथा भिडियोको स्वतन्त्र पुष्टि गरेको छैन ।

युक्रेनले आइतबार राति पुलमा आक्रमण गरेको थियो । रुसी नियन्त्रणमा रहेको क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभका अनुसार उक्त आक्रमणमा दुई जनाको मृत्यु भएको थियो । उनले पुलमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जानकारी दिएका छन् ।

सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि निर्माण गरिएको केर्च पुल सन् २०१८ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन गरेका थिए । यो पुल रुसका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण हुनुका साथै क्रिमियामाथिको रुसी नियन्त्रणको प्रतीक मानिन्छ ।

युक्रेनले यसअघि पनि पटक–पटक पुललाई निशाना बनाउँदै आएको छ । पछिल्लो समय रुसको युद्ध क्षमता कमजोर पार्न युक्रेनी सेनाले तेल प्रशोधन केन्द्र र इन्धन भण्डारणस्थलमा समेत आक्रमण गर्दै आएको छ ।

उता, रुसी क्षेप्यास्त्र आक्रमणपछि किभका उत्तरी र दक्षिणी पुल बन्द गरिएका छन् । किभका मेयर भिटाली क्लित्स्कोले ड्निप्रो नदीमाथिका ती दुई पुलमा क्षति पुगेपछि आवागमन रोकिएको बताएका छन् ।

मंगलबार मध्यरातअघि किभमा शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए । त्यसपछि मेयर क्लित्स्कोले सहरका महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको र केही क्षेत्रमा खानेपानी तथा ताप आपूर्ति अवरुद्ध भएको जानकारी दिएका थिए ।

रुसी आक्रमणबाट किभका केही भूमिमाथिका मेट्रो संरचनामा समेत क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । आक्रमणको जोखिम बढेपछि सर्वसाधारणलाई नागरिक सुरक्षा आश्रयस्थलमा जान आग्रह गरिएको थियो । किभमा हवाई आक्रमण हुँदा स्थानीय बासिन्दाले भूमिगत मेट्रो स्टेसनलाई आश्रयस्थलका रूपमा प्रयोग गर्दै आएका छन् ।

यसअघि जेलेन्स्कीले चीनको सेन्जेनमा बिहीबार चिनियाँ, अमेरिकी र रुसी नेताहरूबीच हुने भेटवार्ताको पूर्वसन्ध्यामा रुसले ठूलो आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij