२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

बल्खु–दक्षिणकाली सडकमा राति आठ बजेपछि सवारी संचालनमा रोक

बल्खु–दक्षिणकाली सडकमा राति आठ बजेपछि सवारी संचालनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालनमा समयसीमा निर्धारण गरेको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार अब उक्त रुटमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार जारी गरेको सूचनाअनुसार बिहान ५ बजेपछि मात्रै बल्खुबाट उक्त रुटमा यात्रुवाहक सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

पछिल्लो समय उक्त सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाका कारण मानवीय क्षति भइरहेको भन्दै यात्रुको सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

साँघुरो तथा घुम्ती र भिरालो सडक, सवारी साधनको कमजोर अवस्था, तीव्र गति, चालकको लापरवाही, अत्यधिक कामको चाप, अनिद्रा तथा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको सूचनामा उल्लेख छ ।

प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक सवारी साधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । साथै काठमाडौं जिल्लाभित्र पर्ने उक्त रुटका प्रहरी इकाइ तथा ट्राफिक प्रहरीले प्रत्येक यात्रुवाहक सवारी साधनको अनिवार्य र कडाइका साथ जाँच गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij