२०८३ मंसिर १ सोमबार

Nov 16 2026 Monday

२०८३ मंसिर १ सोमबार

अमेरिकामा तीन दिनदेखि हवाई उडान अस्तव्यस्त, १८ हजारभन्दा बढी उडान प्रभावित

अमेरिकामा तीन दिनदेखि हवाई उडान अस्तव्यस्त, १८ हजारभन्दा बढी उडान प्रभावित

रोयटर्स । अमेरिकामा लगातार तीन दिनदेखि हवाई उडान सेवा प्रभावित भएको छ । प्राविधिक समस्याका कारण आइतबार मात्रै ११ हजार ५०० भन्दा बढी उडान रद्द तथा ढिलाइ भएका छन् । अमेरिकी यातायातमन्त्री सिन डफीले सोमबारसम्म उडान सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा व्यक्त गरेका छन् ।

उडानसम्बन्धी तथ्यांक उपलब्ध गराउने वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकाभर दुई हजार १०० उडान रद्द भएका थिए भने नौ हजार ४०० उडान ढिलाइ भएका थिए । शनिबार पनि करिब ६ हजार ७०० उडान रद्द र नौ हजार १०० भन्दा बढी उडान ढिलाइ भएका थिए ।
आइतबार अमेरिकन एयरलाइन्सका करिब २० प्रतिशत उडान रद्द भएका थिए । युनाइटेड, साउथवेस्ट र डेल्टा एयरलाइन्सका तीनदेखि पाँच प्रतिशतसम्म उडान रद्द भएको फ्लाइटअवेयरले जनाएको छ ।

यद्यपि सोमबारका लागि उडानको अवस्था सुधार हुने संकेत देखिएको छ । आइतबार रातिसम्म सोमबारका लागि ८८ वटा उडान मात्रै रद्द हुने सूचीमा थिए । यसअघि शनिबार रातिसम्म आइतबारका लागि ८७५ भन्दा बढी उडान रद्द हुने अनुमान गरिएको थियो ।

अमेरिकी यातायातमन्त्री डफीले एबीसीको कार्यक्रम ‘दिस विक’सँग कुरा गर्दै घटनामा साइबर आक्रमण वा अन्य कुनै दुर्भावनापूर्ण गतिविधि भएको प्रमाण नभेटिएको बताएका छन् । तर, प्राविधिक समस्या उत्पन्न हुनुको वास्तविक कारण अझै पत्ता लाग्न सकेको छैन ।

शुक्रबार संघीय उड्डयन प्रशासन (एफएए) ले देशव्यापी रूपमा उडान रोक्ने निर्णय गरेको थियो । त्यसका कारण करिब पाँच घण्टासम्म अमेरिकाबाट प्रस्थान गर्ने अधिकांश उडान रोकिएका थिए । सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि अमेरिकी हवाई यातायातमा भएको यो सबैभन्दा लामो देशव्यापी अवरोध हो ।

अधिकारीहरूका अनुसार एफएएको ठेकेदार कम्पनी एलथ्रीह्यारिसले दुर्गम क्षेत्रमा नयाँ राउटर जडान गरेपछि हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा अत्यधिक तथ्यांक प्रवाह भएको थियो । यसले सञ्चार प्रणालीमा अवरोध सिर्जना गरेको थियो ।

डफीका अनुसार अर्कान्ससको एल डोराडोस्थित एफएए कार्यालयमा राउटर प्रतिस्थापन गर्दा टेक्सासको अमारिलोमा हालै जडान गरिएको अर्को राउटरमा समस्या उत्पन्न भएको थियो । त्यसपछि उक्त राउटरबाट अत्यधिक तथ्यांक प्रवाह हुँदा देशभरका अन्य हवाई ट्राफिक नियन्त्रण केन्द्रका राउटरहरू प्रभावित भएका थिए ।

एफएएले समस्या उत्पन्न गराउने राउटरहरूको कार्यक्षमता बन्द गरिएको जनाएको छ । साथै यस्तै प्रकृतिका अन्य करिब ६० वटा राउटर पनि निष्क्रिय पारिएको छ ।तर, यसअघि हजारौँ पटक कुनै समस्या नआइकन सम्पन्न भएको मर्मतसम्भारका क्रममा यसपटक यस्तो अवरोध किन उत्पन्न भयो भन्ने विषय अझै स्पष्ट हुन नसकेको मन्त्री डफीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij