२०८३ मंसिर २ मंगलबार

Nov 17 2026 Tuesday

२०८३ मंसिर २ मंगलबार

पत्रकार महासंघले गर्यो आन्दोलन घोषणा, प्रधानमन्त्रीको ध्यानाकर्षणदेखि सबै जिल्लामा सामुहिक गिरफ्तारीसम्म

पत्रकार महासंघले गर्यो आन्दोलन घोषणा, प्रधानमन्त्रीको ध्यानाकर्षणदेखि सबै जिल्लामा सामुहिक गिरफ्तारीसम्म

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेसागत तथा श्रम अधिकारको सुनिश्चितताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याउने व्यक्तिमाथि कारबाही नभएको भन्दै आन्दोलन घोषणा गरेको हो ।

त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको महासंघको आरोप छ ।

महासंघले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको भन्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

घोषित कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइनेछ ।

यस्तै, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गरिनेछ भने मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्नेछन् ।

मंसिर ९ गते महासंघका जिल्ला शाखाहरूको आयोजनामा देशभरका जिल्ला प्रशासन कार्यालयमा ’पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला भई विरोध प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ । महासंघले माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij