रियल इस्टेट क्षेत्रमा नेतृत्व, सामुदायिक सेवा र उत्कृष्ट बिक्रीका लागि नेपाली मूलकी रियल्टरलाई सम्मान
डलास–फोर्ट वर्थ, टेक्सास।
वास्तु रियल्टी इन्क.की संगीता कटुवाल सन् २०२६ को मेट्रोटेक ‘४० अन्डर ४०’ रियल्टर पुरस्कारबाट सम्मानित भएकी छन्। मेट्रोटेक एसोसिएसन अफ रियल्टर्सको यङ प्रोफेसनल्स नेटवर्क (YPN) ले अक्टोबर २०, २०२६ मा विजेताहरूको घोषणा गरेको हो।
टेक्सासभरका अत्यन्त प्रतिस्पर्धी रियल्टर आवेदकहरूमध्येबाट कटुवालको छनोट भएको हो। उत्कृष्ट नेतृत्व, सामुदायिक संलग्नता र बिक्रीमा देखाएको सशक्त प्रदर्शनका आधारमा युवा व्यवसायीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ। यस वर्षका सम्मानित व्यक्तिहरूलाई “डीएफडब्लु रियल इस्टेटका पथप्रदर्शक” भनी चिनाइएको छ।
“यी युवा नेतृत्वकर्ताहरू आफ्ना ग्राहक र रियल इस्टेट उद्योगप्रतिको प्रतिबद्धताका कारण विशिष्ट देखिएका छन्,” मेट्रोटेककी अध्यक्ष फ्रान्सिआना क्याम्पाग्नाले भनिन्, “हाम्रा ‘४० अन्डर ४०’ विजेताहरूको सफलता र व्यावसायिक प्रगतिमा बधाई दिन पाउँदा म अत्यन्त गर्वित छु।”
मेट्रोटेक YPN की अध्यक्ष जोनी फ्रिम्यानका अनुसार यस वर्षका आवेदकहरूले रियल्टर संघभित्र उदाउँदा नेतृत्वकर्ताहरूको बढ्दो प्रभाव देखाएका छन्। “‘४० अन्डर ४०’ का सम्मानित व्यक्तिहरूले हाम्रो उद्योगलाई अझ माथि उठाइरहने अग्रगामी सोच र लगनशीलताको प्रतिनिधित्व गर्छन्,” फ्रिम्यानले भनिन्।
कटुवालसहित सबै विजेतालाई डिसेम्बर २०२६ मा हुने मेट्रोटेक आइकन अवार्ड्स ग्यालामा सम्मान गरिनेछ।
सामाजिक सञ्जालमा खुसी साझा गर्दै कटुवालले यसलाई “जीवनभर सम्झिरहने उपलब्धि” भनेकी छन्। उनले लेखेकी छन्, “म आफ्नो उपस्थिति देखाउन, अघि बढ्न र फरक पार्न विश्वास गर्छु। नेतृत्व, व्यावसायिकता र सामुदायिक सेवाको यो सम्मानले मेरो यात्रालाई अझ अर्थपूर्ण बनाएको छ।”
उनले मेट्रोटेक एसोसिएसन अफ रियल्टर्स, आफ्ना ग्राहक, मार्गदर्शक, परिवार र आस्थासँगै यात्राभरि साथ दिने सबैप्रति हार्दिक आभार व्यक्त गरेकी छन्। उनले सेवा गर्ने, सिक्दै अघि बढ्ने र समाजमा प्रभाव पार्ने प्रेरणा पाएको बताएकी छन्।
मेट्रोटेकका ३६ हजारभन्दा बढी सदस्य छन् र यो उत्तर टेक्सासको सबैभन्दा ठूलो रियल्टर सदस्य संस्था हो। सन् १९१७ मा स्थापना भएको यो संस्थाले रियल इस्टेट उद्योग र निजी सम्पत्ति अधिकारको पक्षमा वकालत गर्दै आएको छ।
सम्मानित सबै व्यक्तिहरूको सूची mymetrotex.com/40-under-40 मा हेर्न सकिन्छ।
समाज प्रेसको तर्फबाट संगीता कटुवाललाई हार्दिक बधाई!
ट्यागहरू: संगीता कटुवाल, मेट्रोटेक, ४० अन्डर ४०, वास्तु रियल्टी, डीएफडब्लु रियल्टर
© 2026 All right reserved to samajpress.com | Site By : Sobij