काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वर्षौंदेखि अतिक्रमण तथा अनधिकृत रूपमा प्रयोग हुँदै आएको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन्।
मन्त्री पोखरेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनाको अवधिमा काठमाडौं उपत्यकाभित्र मात्रै त्रिविको उक्त परिमाणको जग्गा फिर्ता गर्न सफल भएको बताएका हुन्।
उनका अनुसार मन्त्रालयको नेतृत्व सम्हालेकै दिनदेखि त्रिविको गुमेको गरिमा फर्काउने र विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्ने उद्देश्यसहित अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग भएका जग्गा खाली गराउने प्रक्रिया अघि बढाइएको थियो।
यसका लागि मन्त्रालयले त्रिवि प्रशासनलाई निर्देशन दिएको र प्रशासनले आवश्यक पत्राचार गरेको उनले बताएका छन्। त्रिवि प्रशासनसँगको निरन्तर समन्वय, प्रशासनिक पहल र दृढ इच्छाशक्तिका कारण जग्गा फिर्ता ल्याउन सफल भएको मन्त्री पोखरेलको भनाइ छ।
फिर्ता भएको जग्गा विश्वविद्यालयको शैक्षिक वातावरण सुधार, गुणस्तरीय शिक्षा प्रदान तथा अत्याधुनिक अनुसन्धान केन्द्र र शैक्षिक पूर्वाधार निर्माणमा उपयोग गरिने उनले बताएका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij