२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

नयाँ नेतृत्वसँगै कांग्रेसले नयाँ गति लिन्छ : उपसभापति चौधरी

नयाँ नेतृत्वसँगै कांग्रेसले नयाँ गति लिन्छ : उपसभापति चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले सभापति गगन थापाको नेतृत्वमा पार्टीलाई व्यवस्थित, गतिशील र जनताको प्रिय पार्टीका रूपमा स्थापित गर्ने बताएका छन्। पार्टीको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै कांग्रेसले संगठन, नीति र कार्यशैलीमा नयाँ दिशा लिने विश्वास व्यक्त गर्दै उनले जनतामा गुम्दै गएको पार्टीको विश्वास पुनःस्थापित गर्ने अभियानमा आफूहरू केन्द्रित हुने बताएका हुन्।

उपसभापतिको पदभार ग्रहण गरेलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै चौधरीले नेपाली कांग्रेसको नेतृत्वमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को राष्ट्रिय अभियानलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक रूपमा लोकतन्त्रको सुदृढीकरण र आर्थिक रूपमा समुन्नत राष्ट्र निर्माण अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै उनले कांग्रेसको राजनीतिक तथा आर्थिक दृष्टिकोण जनताको यही चाहनासँग जोडिएको बताए।

“कांग्रेसको प्राथमिकता लोकतन्त्र, विधिको शासन र समुन्नति हो। हरेक नेपालीले आफ्नै देशमा सम्मानित भएर बाँच्न सक्ने वातावरण निर्माण गर्नु हाम्रो उद्देश्य हो। त्यसका लागि सभापति गगनजीको नेतृत्वमा कांग्रेसले व्यवस्थित प्रयास गर्नेछ”, चौधरीले भने।

उनले लोकतन्त्रलाई केवल राजनीतिक अधिकार र निर्वाचनमा सीमित नराखी नागरिकको जीवनस्तर सुधार, आर्थिक अवसरको विस्तार र सम्मानपूर्वक बाँच्न पाउने अवस्थासँग जोड्नुपर्ने धारणा पनि व्यक्त गरे। राजनीतिक स्वतन्त्रतासँगै आर्थिक समृद्धि हासिल गर्न सके मात्रै लोकतन्त्रप्रति नागरिकको विश्वास थप बलियो हुने उनको भनाइ छ।

१५औँ महाधिवेशनपछि नेपाली कांग्रेसले नीति र नेतृत्व दुवै हिसाबले आफूलाई समयानुकूल अद्यावधिक गरेको चौधरीको विश्लेषण छ। बदलिँदो राजनीतिक परिस्थिति, नागरिकका अपेक्षा र आर्थिक चुनौतीलाई सम्बोधन गर्न पार्टीले नयाँ सोच र कार्यशैली अपनाउनुपर्ने आवश्यकता रहेको उनले बताए। नयाँ नेतृत्वसँग अनुभव, ऊर्जा र भविष्यप्रतिको स्पष्ट सपना रहेकाले कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउन सकिने उनको विश्वास छ।

चौधरीले कांग्रेसको आगामी यात्रा केवल नेतृत्व परिवर्तनमा सीमित हुन नहुने संकेत गर्दै संगठनलाई व्यवस्थित बनाउने, जनतासँगको सम्बन्धलाई बलियो बनाउने र पार्टीका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने दिशामा काम गर्नुपर्ने बताए। उनका अनुसार राजनीतिक दलप्रतिको जनविश्वास भाषण र नाराले मात्रै फर्काउन सकिँदैन। त्यसका लागि जनताले अनुभूति गर्ने परिणाम दिन सक्नुपर्छ।

आर्थिक विकास र उद्यमशीलताको क्षेत्रबाट समेत लामो अनुभव हासिल गरेका चौधरीले समुन्नतिको एजेन्डालाई कांग्रेसको राजनीतिक प्राथमिकतासँग जोडेर अगाडि बढाउनुपर्ने धारणा राख्दै आएका छन्। निजी क्षेत्रको विकास, लगानीको वातावरण, रोजगारी सिर्जना र आर्थिक अवसरको विस्तारलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्ने उनको दृष्टिकोण छ। राजनीतिक स्थायित्व, विधिको शासन र आर्थिक स्वतन्त्रताबीचको सम्बन्धलाई कांग्रेसले आफ्नो नीतिगत प्राथमिकतामा राख्नुपर्ने उनको भनाइको आशय छ।

नयाँ नेतृत्वप्रति जनताको अपेक्षा बढिरहेको उल्लेख गर्दै चौधरीले पार्टीभित्रको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई एकीकृत गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेतृत्व परिवर्तनसँगै संगठनात्मक कार्यशैलीमा पनि परिवर्तन देखिनुपर्ने उनको संकेत छ।

१५औँ महाधिवेशनबाट सभापतिमा गगन थापा र उपसभापतिमा विनोद चौधरीसहित नयाँ नेतृत्व निर्वाचित भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij