२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

२०८३ कार्तिक १९ बुधबार

कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् : राष्ट्रपति पौडेल

कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार भएको बताएका छन् ।

दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि यही नै हो’, उनले भने । त्यसैले, जनताले राखेको अपेक्षा पूरा गर्नेतर्फ तीनै तहका सरकार गम्भीर हुने विश्वास उनले व्यक्त गरे ।

उनले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गरे ।

‘प्रशासनिक भवन केवल भौतिक संरचना मात्र होइन; यो जनताको सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासनव्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक पनि हो’, राष्ट्रपति पौडेलले भने । उनले भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बन्न सकोस् भन्ने विश्वास व्यक्त गरे ।

प्रशासनिक भवन आधुनिक हुनुका साथसाथै प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुन आवश्यक रहेको उनको भनाइ थियो ।

‘सूचना प्रविधिको अधिकतम प्रयोग, अभिलेख व्यवस्थापन, डिजिटल सेवा र गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो’, राष्ट्रपति पौडेलले भने ।

दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij