काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको छ । आयोगले मंगलबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८/०७९ मा पशु हाटबजार,बाख्रा हाटबजार र गुदरी हाटबजारसम्बन्धी ठेक्का विवादित व्यक्तिलाई दिइ रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख तेली, उपप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्त कुमार पौड्याल,तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतो, तत्कालीन राजश्व शाखा प्रमुख दिनेश कुमार सहनीविरुद्ध मुद्धा दायर भएको अख्तियारले जनाएको छ। हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादवलाई मुद्दामा प्रतिवादी बनाइएको छ ।
उनीहरूमाथि १ करोड ६० लाख ११ हजार ४३१ रुपैयाँ हिनामिना गरेको आरोप छ। तत्कालीन नगर प्रमुख तेली,उपप्रमुख थापा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी,तत्कालीन राजश्व शाखा प्रमुख सहनी र हाटबजार ठेकेदार यादवविरुद्ध १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ विगो माग गरिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij