२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

नयाँ नियुक्त हुने उपकुलपतिलाई आफ्नै टिम बनाएर काम गर्न पाउने गरी व्यवस्था गर्न पूर्वउपकुलपतिहरुको आग्रह

नयाँ नियुक्त हुने उपकुलपतिलाई आफ्नै टिम बनाएर काम गर्न पाउने गरी व्यवस्था गर्न पूर्वउपकुलपतिहरुको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले नयाँ नियुक्त हुने उपकुलपतिलाई आफ्नै टिम बनाएर काम गर्न पाउने गरी व्यवस्था गर्न आग्रह गरेका छन् ।

शुक्रबार विज्ञप्तिमार्फत पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनजंग शाहले दलगत राजनीतिबाट मुक्त गर्ने अभिप्रायले उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिले योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको भए पनि उपकुलपतिको राम्रो छनोट मात्र सबै समस्याको समाधान नभएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नियुक्त हुने उपकुलपतिले अन्य पदाधिकारीहरू समेतको आफ्नै टोली बनाएर काम गर्न पाएमात्र उपकुलपतिको नेतृत्व प्रभावकारी हुने हुँदा उपकुलपतिले आफ्नो टोली आफैँ बनाउन सक्ने प्रावधानको प्रादुर्भाव हुनु पनि उत्तिकै आवश्यक छ । यस प्रावधानतर्फ पनि सम्बन्धित सबैको ध्यान जाओस्, हाम्रो आग्रह छ ।’

त्यस्तै उनीहरुले विश्वविद्यालयलाई अहिलेको समस्याबाट मुक्त गर्न व्यापक सुधार गरी अघि बढाउन सबै दलहरूको राजनैतिक सहमति आवश्यक रहेको पनि बताएका छन् ।

उनीहरुले त्रिभुवन विश्वविद्यालय राष्ट्रको एक धरोहर संस्था हो र यसको सुधारले देशको विभिन्न पक्षमा सकारात्मक असर अवश्य पर्ने बताएका छन् ।

उनीहरूले त्रिभुवन विश्वविद्यालय नेतृत्वविहीन रहेको लामो समय भइसकेको बताउँदै अब अरू ढिलो नगरी सिफारिस समितिले यथाशीघ्र उत्कृष्ट उमेदवारको सिफारिस गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयहरूको नेतृत्व चयनमा अदृश्य रूपमा भागबन्डाले आश्रय पाएमा नेपालको उच्च शिक्षालाई अझ कमजोर बनाउने छ । यसतर्फ पनि हामी निर्णायकहरूको ध्यान आकृष्ट गर्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij