२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

जनकपुर ।  मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ। चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको तयारीमा छन्। यसअघि पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन हिजो शुक्रबार बर्तालुले ‘नहाय–खाय’ विधिका बीच व्रत सङ्कल्प गरिसकेका छन्।

पर्वको दोस्रो दिनअर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राती सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खीर खाने विधि पूरा गरिने छ। यो विधिलाई मैथिलीमा ‘खरना’ भनिन्छ।

छठलाई मिथिलामा लोकआस्थाको महापर्व भनिन्छ। श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धि पर्वका मुख्यपक्ष मानिन्छन्। यिनै निष्ठामा रहेर ‘खरना’का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाडामा सख्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खीर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन्।

आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन्। पर्वको तेस्रो दिन सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिनेछन्।

यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ। त्यसैगरी, सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ।

उदाउँदा सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। अर्घ्य दिइँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउने गरिन्छ। अर्घ्य दिने पूजा सामग्रीमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार रहन्छन्। यी परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ। पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइन्छ।

केही वर्ष पहिलेसम्म मधेसी हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते हिन्दू पनि बाक्लै मनाउन थालेका छन्। मिथिलामा इस्लाम धर्मावलम्बीले समेत बर्तालुलाई अर्घ्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन्। यसले छठ पर्वलाई साझा बनाएको छ।

पर्वमा सबै धर्म, संस्कृति र जाति समुदाय सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ। सबैको साझा बन्दै गएको हुनाले यो पर्वलाई लोकआस्थाको महापर्व भनिएको भङ्गाहा–५ सीतापुरस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादव बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij