रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
सोमबार दिउँसो थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याब जिप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
आठबिसकोट नगरपालिका–४ निवासी २५ वर्षीय प्रदीप विकले चलाएको उक्त जिप दुर्घटनामा आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, आठ वर्षीय युवराज थापा र चार वर्षीया विरता थापा गम्भीर घाइते भएका छन्।
त्यस्तै, २५ वर्षीया हिरा थापा र दुई वर्षीय गौरव थापा मध्यम घाइते भएका छन्। २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी सामान्य घाइते भएका छन्।
घाइतेमध्ये मध्यम तथा सामान्य अवस्थाका छ जनालाई दिउँसो १ः२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ। अन्य घाइतेलाई पनि उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईँको कमाण्डमा सात जनाको टोली घटनास्थलमा खटिएको छ। दुर्घटनापछि चालक प्रदीप विक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij