उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मंगलबार दिउँसो बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको को १–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो ।
काठमाडौं महानगरपालिका–३२ निवासी ४२ वर्षीय कृष्ण केसीले चलाएको माइक्रोबसमा चालकसहित ११ जना सवार थिए । दुर्घटनामा चालक केसीसहित १० जना घाइते भएका छन् ।
घाइते हुनेमा झापाको सुरुङ्गा नगरपालिका–३ की ४० वर्षीया रेणुका प्रसाईँ र उनका १४ वर्षीय छोरा नैन प्रसाईँ, मोरङको उर्लाबारी नगरपालिका–३ की ५० वर्षीया निलकुमारी लम्साल, सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की ४३ वर्षीया मुना ढकाल, उदयपुरको बेलका नगरपालिका–१ का ३८ वर्षीय प्रवीण तामाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ७० वर्षीय अमृतबहादुर खड्का, सुनसरीको इटहरी उपमहानगरपालिका–८ की ३७ वर्षीया रञ्जिता गौतम तथा उदयपुरको चौदण्डीगढी नगरपालिका–१० की २५ वर्षीया जमुना परियार बिक र उनका नौ वर्षीय छोरा अंकित बिक रहेका छन् ।
माइक्रोबसमा सवार रेणुका प्रसाईँकी १० वर्षीया छोरी निरुसा प्रसाईँ भने सकुशल रहेकी छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij