काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आफ्नो वित्तीय प्रदर्शन उल्लेख्य रूपमा सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंकको नाफा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ थियो। यस आधारमा बैंकको नाफा एक वर्षमा ४५.४ प्रतिशतले बढेको हो।
बैंकको आम्दानी बढ्नुमा सञ्चालन खर्च व्यवस्थापन, सस्तो निक्षेपको उपलब्धता र कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने रकममा आएको कमीले भूमिका खेलेको देखिन्छ। ब्याज आम्दानीमा सामान्य गिरावट आए पनि ब्याज भुक्तानीमा भएको ठूलो कटौतीले बैंकको वास्तविक ब्याज आम्दानी बढाउन सहयोग गरेको छ।
अध्यक्ष निर्वाण चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीको नेतृत्वमा बैंकले व्यवस्थापन तथा व्यावसायिक विस्तारलाई अघि बढाइरहेको छ। पछिल्लो वित्तीय विवरणमा नाफा, प्रतिफल र खराब कर्जाका सूचकमा देखिएको परिवर्तनले बैंकको समग्र वित्तीय अवस्थामा सुधारको संकेत गरेको छ।
बैंकको सहायक कम्पनीहरूको कारोबारसमेत जोड्दा नबिल समूहको खुद नाफा २ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ पुगेको छ। समूहको नाफा अघिल्लो वर्षको तुलनामा ६०.६ प्रतिशतले वृद्धि भएको हो। यसपटक समूहको नाफा बैंकको एकल वित्तीय विवरणमा देखिएको नाफाभन्दा बढी रहेको छ।
बैंकले ब्याज खर्च घटाएर आम्दानी बढाउन सफल भएको छ। अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी १.९ प्रतिशतले घटे पनि ब्याज खर्चमा १७.४ प्रतिशतको कमी आएको छ। फलस्वरूप खुद ब्याज आम्दानी २१.४ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ९ अर्ब ६१ करोड र ब्याज खर्च ४ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।
निक्षेपमा दिने ब्याजदर घटेसँगै बैंकको कोष व्यवस्थापन लागत पनि कम भएको छ। गत वर्ष ४.१३ प्रतिशत रहेको कोषको लागत अहिले २.९२ प्रतिशतमा झरेको छ। बैंकको आधार दरसमेत ५.५८ प्रतिशतबाट घटेर ४.४१ प्रतिशत कायम भएको छ। यद्यपि, ब्याजदर अन्तर भने अघिल्लो वर्षको ३.५१ प्रतिशतबाट घटेर ३.१७ प्रतिशतमा आएको छ।
बैंकको गैरब्याज आम्दानीका केही स्रोतमा समेत सुधार देखिएको छ। खुद शुल्क तथा कमिसनबाट प्राप्त आम्दानी १५.१ प्रतिशतले बढेको छ भने खुद ट्रेडिङ आम्दानीमा ५५.३ प्रतिशतको वृद्धि भएको छ। अर्कोतर्फ अन्य सञ्चालन आम्दानी ६२.६ प्रतिशतले घटेको छ। यी सबै पक्षको समग्र प्रभावस्वरूप बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब १३ करोड ६५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा १६.४ प्रतिशत बढी हो।
बैंकको नाफा वृद्धिमा कर्जा जोखिम व्यवस्थापन खर्च घट्नु अर्को महत्त्वपूर्ण पक्ष बनेको छ। गत वर्षको पहिलो त्रैमासमा सम्भावित कर्जा नोक्सानीका लागि ६४ करोड ७२ लाख रुपैयाँ छुट्याएको बैंकले यस वर्ष १६ करोड ४० लाख रुपैयाँ मात्र व्यवस्था गरेको छ। अघिल्लो वर्षको तुलनामा यस्तो खर्च ७४.७ प्रतिशतले घटेको हो।
निष्क्रिय कर्जाको अवस्थामा पनि केही सुधार आएको छ। बैंकको कुल खराब कर्जा अनुपात ४.३१ प्रतिशतबाट घटेर ४.०६ प्रतिशत पुगेको छ। खुद खराब कर्जा अनुपात ०.९७ प्रतिशतबाट घटेर ०.६३ प्रतिशतमा सीमित भएको छ। खराब कर्जाविरुद्ध गरिएको नोक्सानी व्यवस्थाको कभरेज भने १०८.७१ प्रतिशतबाट बढेर १२०.५६ प्रतिशत पुगेको छ।
खर्च व्यवस्थापनमा सुधार भए पनि कर्मचारीतर्फको खर्च बढेको छ। बैंकले कर्मचारीका लागि गर्ने खर्च अघिल्लो वर्षको तुलनामा १३.७ प्रतिशतले वृद्धि भई १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा सञ्चालन मुनाफा ४२.३ प्रतिशत र कर तिर्नुअघिको नाफा ४७.९ प्रतिशतले बढेको छ।
व्यवसाय विस्तारका क्रममा बैंकले निक्षेप र कर्जा दुवै बढाएको छ। असोज मसान्तसम्म बैंकमा ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन भएको छ। यो गत असार मसान्तको तुलनामा ४.६ प्रतिशत बढी हो। त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा ३.४ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ पुगेको छ।
बैंकको कर्जा र निक्षेपबीचको अनुपात ८०.०१ प्रतिशत रहेको छ। कुल सम्पत्ति पनि ५.६ प्रतिशतले बढेर ७ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। तर, बैंकको लगानी पोर्टफोलियोमा भने संकुचन देखिएको छ। अघिल्लो असार मसान्तको तुलनामा लगानी ८.१ प्रतिशतले घटेर १ खर्ब १७ अर्ब १९ करोड रुपैयाँमा झरेको छ।
नाफा बढेसँगै सेयरधनीका लागि प्रतिफलसम्बन्धी सूचकमा पनि सकारात्मक परिवर्तन आएको छ। बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४९ पैसाबाट बढेर ३३ रुपैयाँ ८९ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ९० पैसा कायम हुँदा इक्विटीमा प्रतिफल १३.९९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो अनुपात १०.७० प्रतिशत थियो। त्यसैगरी, सम्पत्तिमा प्रतिफल पनि १.०५ प्रतिशतबाट बढेर १.३३ प्रतिशत पुगेको छ।
यद्यपि, बैंकको पुँजी पर्याप्ततासम्बन्धी सूचकमा भने गिरावट आएको छ। कुल पुँजीकोष अनुपात अघिल्लो वर्षको १२.६७ प्रतिशतबाट घटेर ११.६७ प्रतिशतमा आएको छ। त्यस्तै, बैंकको मुख्य पुँजी मानिने सीईटी–१ अनुपात ९.५५ प्रतिशतबाट घटेर ८.३२ प्रतिशत कायम भएको छ।
बैंकले समीक्षा अवधिमा ५ प्रतिशत बोनस सेयर पुँजीकरण गरेपछि चुक्ता पुँजी ३३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। यसमा ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत अग्राधिकार सेयरसमेत समावेश रहेको छ।
लाभांश वितरण गर्न सक्ने क्षमताका हिसाबले पनि बैंकसँग उल्लेख्य रकम रहेको देखिन्छ। राष्ट्र बैंकको नियामकीय व्यवस्था पूरा गरी आवश्यक कोषमा रकम छुट्याएपछि चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ३७ करोड ७ लाख रुपैयाँ पुगेको छ। यसमा अघिल्लो वर्षबाट बाँकी रहेको सञ्चित नाफा समायोजन गरी बोनस सेयर तथा नगद लाभांश वितरणको हिसाब कटाउँदा कुल वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ कायम भएको छ। प्रतिसेयर वितरणयोग्य नाफा २२ रुपैयाँ ८ पैसा रहेको छ।
सेयर बजारमा समीक्षा अवधिमा नबिल बैंकको सेयर मूल्य ५२५ रुपैयाँदेखि ५८१ रुपैयाँसम्म कारोबार भएको थियो। त्रैमासको अन्तिम कारोबार मूल्य ५४७ रुपैयाँलाई आधार मान्दा बैंकको मूल्य–आम्दानी अनुपात १६.१४ गुणा रहेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij