वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताएका छन् । उनले इरानका मागहरू अस्वीकार्य र अव्यावहारिक रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको बताएका हुन् ।
जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता निष्कर्षमा पुग्न नसकेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानको पक्षमा रहेको उल्लेख गर्दै उनले तेहरानका मागलाई अस्वीकार गरेका छन् ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई सबै मोर्चामा युद्ध अन्त्य गर्ने तेहरानको प्रस्ताव स्वीकार गर्न वा कडा सैन्य प्रतिकारको सामना गर्न चेतावनी दिएका छन् ।
आइतबार सामाजिक सञ्जाल एक्समार्फत उनले युद्ध अन्त्य गर्ने वा क्षेत्रीय द्वन्द्व थप चर्काउने भन्ने निर्णय अमेरिकाको हातमा रहेको बताएका हुन् । इरानको दुईदिने प्रस्ताव अझै कायम रहेको उल्लेख गर्दै उनले त्यसलाई अस्वीकार गरे इरानी सेनाले कडा जवाफ दिने चेतावनी दिएका छन् ।
अराघचीले अमेरिकी मध्यावधि निर्वाचनको नतिजाका कारण युद्ध अन्त्यका लागि भइरहेका मध्यस्थताका प्रयास प्रभावित भएको पनि बताएका छन् । निर्वाचन परिणामपछि मध्यस्थकर्ताहरूलाई पुनः संवाद सुरु गर्न अनुकूल वातावरण बनाउन केही समय लाग्ने उनको भनाइ छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij