२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

रिपब्लिकनका गढ भत्काउँदै डेमोक्र्याटको ऐतिहासिक जित, ट्रम्पलाई संसद्मा चुनौती

रिपब्लिकनका गढ भत्काउँदै डेमोक्र्याटको ऐतिहासिक जित, ट्रम्पलाई संसद्मा चुनौती

वासिङ्टन । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले शानदार जित हासिल गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनलाई ठूलो धक्का दिएको छ। डेमोक्रेटले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेपछि ट्रम्प प्रशासनमाथि निगरानी र नियन्त्रण बढाउने घोषणा गरेका छन्।

इरानसँगको युद्ध, बढ्दो महँगी र दैनिक जीवनयापनको खर्चप्रति मतदातामा देखिएको असन्तुष्टिले डेमोक्र्याटलाई जित दिलाउन सहयोग गरेको हो। निर्वाचनमा डेमोक्र्याटले सिनेटमा कम्तीमा ५४ सिट जितेका छन् भने प्रतिनिधिसभामा पनि कम्तीमा ३० सिट थपेका छन्।
यो परिणामसँगै राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालमा पहिलोपटक दुवै सदनमा डेमोक्र्याटको बहुमत सामना गर्नुपर्ने भएको छ। यसले अमेरिकी राजनीतिमा आगामी दुई वर्ष सरकार र संसद्बीच टकराव बढ्ने सम्भावना देखिएको छ।

प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रिजले नयाँ बहुमतले महँगी नियन्त्रण र सरकारलाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिने बताएका छन्। उनले प्रतिनिधिसभा अब ट्रम्प प्रशासनको प्रभावमा सञ्चालन नहुने स्पष्ट पारे।यसैबीच, न्युयोर्कका मेयर जोहरान ममदानीले पनि निर्वाचन जितेर मात्रै नहुने भन्दै जनताका समस्या समाधान गर्न डेमोक्र्याटिक पार्टीलाई आग्रह गरेका छन्।

निर्वाचनमा ठूलो पराजय व्यहोरेपछि पहिलो सार्वजनिक कार्यक्रममा देखिएका ट्रम्पले भने हारबारे विस्तृत प्रतिक्रिया दिनुको सट्टा ह्वाइट हाउसमा निर्माणाधीन बलरुमको अवलोकन गराएका थिए। उनले डेमोक्र्याटसँग मिलेर काम गर्न तयार रहेको बताउँदै आवश्यक परे राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने चेतावनीसमेत दिए।

निर्वाचनमा रिपब्लिकनको बलियो पकड रहेका राज्यहरूमा समेत डेमोक्रेटले अप्रत्याशित सफलता हासिल गरेका छन्। टेक्सासमा सन् १९८८ पछि पहिलोपटक सिनेट सिट जित्दै डेमोक्र्याटले दशकौँदेखिको हारको शृङ्खला तोडेका छन्। त्यहाँ तीन कार्यकालदेखि गभर्नर रहेका ग्रेग एबट पनि पराजित भएका छन्।

त्यस्तै, कन्सासमा झन्डै एक शताब्दीपछि डेमोक्र्याटिक सिनेटर निर्वाचित भएका छन् भने दक्षिण क्यारोलाइनामा ट्रम्पको समर्थनप्राप्त सिनेट उम्मेदवार पराजित भएका छन्। निर्वाचन परिणामलाई ट्रम्पको दोस्रो कार्यकालप्रतिको जनमतका रूपमा हेरिएको छ। आगामी दुई वर्ष डेमोक्र्याटको नियन्त्रणमा रहेको कंग्रेस र ट्रम्प प्रशासनबीच नीतिगत संघर्ष चर्किने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij