एजेन्सी । अमेरिकामा सम्पन्न राज्यस्तरीय संसद् निर्वाचनमा नेपाली मूलका तीन उम्मेदवारले विजय हासिल गरेका छन्। डेमोक्रेटिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहेका डा. ह्यारी भण्डारी, सरहाना श्रेष्ठ र विश्वबहादुर शाह निर्वाचित भएका हुन्। अर्कोतर्फ, मेरिल्यान्डबाट उम्मेदवारी दिएका सतीश चापागाईं भने पराजित भएका छन्।
मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्सअन्तर्गत डिस्ट्रिक्ट ८ बाट चुनाव लडेका डा. ह्यारी भण्डारीले लगातार तेस्रोपटक जित हासिल गरेका छन्। सन् २०१८ मा पहिलोपटक निर्वाचित भएर अमेरिकी राज्य संसद्मा प्रतिनिधित्व गर्ने पहिलो नेपाली मूलका अमेरिकी बनेका भण्डारीले सन् २०२२ को निर्वाचनमा पनि सफलता पाएका थिए। यसपटकको जितसँगै उनले आफ्नो संसदीय यात्रालाई तेस्रो कार्यकालसम्म विस्तार गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्रमा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, पूर्वाधार विकास र युवाका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै आएका भण्डारीको निरन्तरको सफलतालाई अमेरिकी राजनीतिमा नेपाली समुदायको बलियो उपस्थितिका रूपमा हेरिएको छ।
त्यस्तै, न्युयोर्क राज्यको स्टेट एसेम्बलीअन्तर्गत डिस्ट्रिक्ट १०३ बाट उम्मेदवार बनेकी सरहाना श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकी छन्। डेमोक्रेटिक पार्टी र वर्किङ फेमिलिज पार्टीको साझा उम्मेदवार रहेकी श्रेष्ठ सन् २०२२ मा पहिलोपटक निर्वाचित भएकी थिइन्। उनी न्युयोर्क राज्यको एसेम्बलीमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली मूलकी अमेरिकी हुन्।
जलवायु परिवर्तन, वातावरण संरक्षण, किफायती आवास र सामाजिक न्यायका सवालमा सक्रिय रहँदै आएकी श्रेष्ठले आफ्नो पहिलो कार्यकालमा गरेको काम र मतदातासँगको निरन्तर सम्पर्कका आधारमा पुनः जनसमर्थन प्राप्त गरेकी हुन्।
यसैगरी, न्यु ह्याम्पसायर राज्यको हिल्सबरो डिस्ट्रिक्ट ४१ बाट डेमोक्रेटिक पार्टीका उम्मेदवार विश्वबहादुर शाह पनि निर्वाचित भएका छन्। पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका शाहले सुरुवाती प्रयासमै सफलता हासिल गर्दै म्यानचेस्टर क्षेत्रबाट विधायक बन्ने पहिलो नेपालीको पहिचान बनाएका छन्। उनी अमेरिकी राज्य संसद्मा पुग्ने नेपाली मूलका तेस्रो व्यक्ति बनेका छन्।
यता, मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ७ ‘ए’ बाट हाउस अफ डेलिगेट्सका लागि प्रतिस्पर्धा गरेका सतीश चापागाईं भने चुनावमा पराजित भएका छन्। डेमोक्रेटिक पार्टीको प्राथमिक निर्वाचन (प्राइमरी) मा सफलता पाएर मुख्य निर्वाचनमा प्रवेश गरेका चापागाईंले दुई सिटका लागि भएको प्रतिस्पर्धामा रिपब्लिकन पार्टीका प्रभावशाली बहालवाला उम्मेदवारहरूको सामना गरेका थिए। नतिजा आफ्नो पक्षमा पार्न नसके पनि उनको उम्मेदवारीलाई अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदायको सक्रिय सहभागिताका रूपमा हेरिएको छ।
अमेरिकाका विभिन्न राज्यमा नेपाली मूलका उम्मेदवारहरूले हासिल गरेको यो सफलताले त्यहाँको राजनीतिक तथा सार्वजनिक क्षेत्रमा नेपाली समुदायको पहुँच र प्रतिनिधित्व विस्तार हुँदै गएको देखाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij