२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

एल निनोको सम्भावित विनाशकारी प्रभावलाई ध्यान दिँदै बोलिभियामा संकटकाल

एल निनोको सम्भावित विनाशकारी प्रभावलाई ध्यान दिँदै बोलिभियामा संकटकाल

बोलिभिया । जलवायु परिवर्तनसँग जोडिएको मौसमी प्रभाव एल निनोका कारण खडेरी र बाढीको जोखिम बढेपछि दक्षिण अमेरिकी देश बोलिभियाले देशव्यापी संकटकाल घोषणा गरेको छ ।

राष्ट्रपति रोड्रिगो पाजले शनिबार संकटकालीन अवस्थासम्बन्धी आदेशमा हस्ताक्षर गरेका हुन् । यससँगै प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन र राहत तथा स्रोतसाधन व्यवस्थापनलाई तीव्र बनाउने बाटो खुलेको छ ।

राष्ट्रपति पाजका अनुसार एल निनोका कारण देशले खडेरी र बाढी दुवैको गम्भीर प्रभाव सामना गर्नुपर्ने देखिएको छ । उनले यस चुनौतीको सामना गर्न सबै सरकारी निकाय र संस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

सरकारी प्रतिवेदनअनुसार बोलिभियाका नौमध्ये छवटा प्रशासनिक क्षेत्रमा खडेरीबाट ७८ हजार परिवार प्रभावित भएका छन् । खडेरीका कारण ७५ हजारभन्दा बढी गाईवस्तु मरेका छन् । यसले कृषि तथा पशुपालनमा निर्भर समुदायको जीविकोपार्जनमा गम्भीर असर पारेको छ ।

बोलिभिया खडेरीसँगै बाढीको जोखिममा पनि रहेको देश हो । सन् २०२५ को डिसेम्बरमा सान्ता क्रुज क्षेत्रमा आएको बाढीका कारण दर्जनौँ मानिसको मृत्यु भएको थियो ।

एल निनो प्रत्येक दुईदेखि सात वर्षको अन्तरालमा देखिने प्राकृतिक जलवायु प्रणाली हो । प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री सतहको तापक्रम सामान्यभन्दा बढी हुँदा यसले विश्वव्यापी हावाहुरी, वायुचाप र वर्षाको स्वरुपमा परिवर्तन ल्याउँछ । यसको प्रभावले कुनै क्षेत्रमा अत्यधिक वर्षा र बाढी आउन सक्छ भने अन्य क्षेत्रमा खडेरी तथा तापक्रम वृद्धि हुन सक्छ ।

यसपटकको एल निनो सन् २०२६ को अन्त्यतिर उत्कर्षमा पुग्ने अनुमान गरिएको छ । यसको प्रभाव सन् २०२७ सम्म पनि जारी रहन सक्ने वैज्ञानिकहरूको आकलन छ ।  विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले सेप्टेम्बरको सुरुवातमा एल निनोको प्रभाव सन् २०२७ को फेब्रुअरीसम्म जारी रहने सम्भावना झन्डै शतप्रतिशत रहेको जनाएको थियो ।

वैज्ञानिकहरूले यसपटकको एल निनो अभिलेख राख्न थालिएयताकै शक्तिशालीमध्ये एक हुन सक्ने चेतावनी दिएका छन् । यसको प्रभाव विश्वव्यापी रूपमा फैलिँदा विशेषगरी गरिब तथा जलवायु जोखिममा रहेका देशहरू बढी प्रभावित हुने अनुमान गरिएको छ ।

यसैबीच, बोलिभियाको छिमेकी देश चिलीको राजधानी सान्टियागोमा अक्टोबर महिनामा अहिलेसम्मकै सबैभन्दा बढी वर्षा रेकर्ड भएको छ । पेरुमा गत महिना लागेको डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

बोलिभिया सरकारले संकटकाल घोषणामार्फत विपद् प्रभावित क्षेत्रमा तत्काल स्रोतसाधन परिचालन, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij