२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

आपत्कालीन राहत कोषका लागि रामकृष्ण ढकाल सांगीतिक साँझ आयोजना गर्दै एनएससीटी

आपत्कालीन राहत कोषका लागि रामकृष्ण ढकाल सांगीतिक साँझ आयोजना गर्दै एनएससीटी

अस्टिन, टेक्सास — आपत्कालीन अवस्थामा समस्यामा परेका नेपालीलाई सहयोग गर्न नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सास (एनएससीटी) ले राहत कोष स्थापना गर्ने पहल थालेको छ। कोषका लागि आर्थिक स्रोत जुटाउन संस्थाले आगामी नोभेम्बर ६, २०२६ मा गायक रामकृष्ण ढकालको सांगीतिक साँझ आयोजना गर्ने भएको छ।

टेक्सासस्थित ला रियो म्यान्सनमा हुने कार्यक्रममा ढकालले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन्। तिहारको पूर्वसन्ध्यामा आयोजना गरिने सांगीतिक साँझमा खाना, नाचगान तथा देउसी–भैलोसमेत समेटिने आयोजकले जनाएको छ।

एनएससीटीका महासचिव मुनिश शर्माका अनुसार सेन्ट्रल टेक्सासमा बसोबास गर्ने नेपालीलाई आकस्मिक संकटका बेला सहयोग पुर्‍याउने उद्देश्यले राहत कोष स्थापनाको पहल गरिएको हो। सांगीतिक कार्यक्रममार्फत नेपाली समुदायलाई एकै ठाउँमा जोड्दै उक्त कोषका लागि सहयोग जुटाउने संस्थाको लक्ष्य रहेको उनले जानकारी दिए।

परदेशमा चाडपर्वले आपसी भेटघाट र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँछन्। यही अवसरलाई संकटमा एकअर्काको सहारा बन्ने सामुदायिक प्रयाससँग जोड्न खोजिएको यस आयोजनाले मनोरञ्जनसँगै सामाजिक उद्देश्यसमेत बोकेको छ।

स्थापना भएको एक वर्षयता सामाजिक एकता, आपसी सद्भाव र सामुदायिक सहकार्यका क्षेत्रमा सक्रिय एनएससीटीले कार्यक्रमबाट जुट्ने रकम आपत्कालीन राहत कोषमा राखिने जनाएको छ।

संस्थाले यस अभियानमा साथ दिन सेन्ट्रल टेक्सास तथा आसपासका नेपाली समुदाय, व्यवसायी र शुभेच्छुकलाई कार्यक्रममा सहभागी हुन तथा सहयोग गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij