काठमाडौँ । काठमाडौँका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने क्युआर कोड राखिएको छ ।
सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरुले सजिलै जानकारी पाउन सकुन भनेर वडाले प्रविधिको प्रयोग थालेको हो, वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ । क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो ।’
वडा सदस्य रसला तण्डुकारका अनुसार वडाभित्र ४ वटा प्राचीन ढुङ्गेधारा छन् । यस्तै नागपोखरी, हिटी पोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु आधा शिव), साइ केन्द्र, सोराहिटी (तीनधारा), जमल विहार, लाल गणेश जस्ता प्राचीन सांस्कृतिक सम्पदा छन् ।
यी सम्पदाको प्रवर्धनका लागि क्युआर कोडमार्फत काम थालिएको हो । वडा सचिव सर्वज्ञराज पौडेल भन्छन्, ‘ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटकहरु वडा नम्बर १ का विभिन्न मन्दिर, ढुङ्गेधारा, महाविहारजस्ता सम्पदा क्षेत्रमा आउनुहुन्छ । उहाँहरुलाई स्मारकका बारेमा जान्न सजिलो होस् भनेर प्रयोगका रुपमा हामीले अहिले २ वटा मन्दिर र एउटा महाविहारको चिनारी क्युआर कोडमा राखेका हौँ । यसको पृष्ठपोषण हेरेर थप कामको योजना बनाउने छौँ ।’
वडाले द सारङ्गको प्राविधिक सहयोगमा क्यु आर कोड राखेको हो । क्युआर कोडमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनीज, कोरियन, स्पेनिस, जापानीज, अरेविक गरी १० भाषामा अडियो सुन्न सकिन्छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij