२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

कांग्रेस महासमिति बैठकको समिक्षा

कांग्रेस महासमिति बैठकको समिक्षा

झरना अधिकारी ।

गत साता मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले आफ्नो महासमिति बैठक सम्पन्न गर्यो । झट्ट हेर्दा कांग्रेसको महासमिति बैठक कांग्रेसको आन्तरिक राजनीतिक विषय मात्रै हो । यद्यपि मिहिन ढंगले नियाल्ने हो भने कांग्रेस महासमिति बैठक आमचासोको विषय पनि हो । किनकी बहुदलीय लोकतान्त्रिक व्यवस्थामा दलहरुको आन्तरिक विषयले समाज र राष्ट्रलाई तत्कालिक र दूरगामी दुवै रुपमा फरक पार्दछन् ।

नेपाली कांग्रेसले २००७ सालको क्रान्तिको अगुवाई गरेर मुलुकमा पहिलो पटक प्रजातन्त्रको स्थापना मात्रै गरेको होइन, २०७२ सालमा संविधान निर्माणको नेतृत्व गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत जग पनि बसालेको हो । ईतिहासको यो गौरव कांग्रेसजनले सधै प्रचार गरिआएकै विषय थियो । यसपटक भने कांग्रेस महासमिति बैठकले इतिहासको गाथा मात्रै होइन वर्तमानको प्रयत्न र भविष्यको बाटोसमेत देखाउनुपर्ने पाठ कांग्रेसलाई पढाएको छ ।

महासमिति बैठकमा चुनावअघि गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयले आवश्यकताभन्दा बढी प्राथमिकता पायो तर महासमितिको बन्दसत्रमा नेपाली समाजका अनेक आयाम, राजनीतिक व्यवस्था, सुशासन र नेपालबाहिरका नेपालीको बारेमा पनि खुलेर बहस भएको पाइयो । कांग्रेस महासमिति बैठक सम्पन्न भइसकेको छ । महासमितिले कांग्रेसलाई कति परिष्कृत गराउँछ वा मुलुकलाई के उपलब्धि दिन्छ भन्ने यकीन भइसकेको छैन यद्यपि महासमितिका केही महत्वपूर्ण सवालहरुबारे सार्वजनिक चासो बढेको पाइन्छ ।

गठबन्धनको कुरो

नेपालमा चुनाव पहिलेको गठबन्धन नयाँ अभ्यास हो । त्यसैले यसको पक्ष विपक्षको बहसले कांग्रेसमात्रै होइन सबै पार्टीमा स्थान पाएको छ । कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले ‘अब उप्रान्त कांग्रेस कार्यकर्ताहरुले रुखबाहेक अन्य चिन्हमा मतदान गर्नुनपर्ने’ प्रस्ताव दर्ज गराएका छन् । अघिल्लो निर्वाचनमा विगतभन्दा कांग्रेसको जनाधार ७ प्रतिशतले खुम्चिएको थियो । गठबन्धनका नाममा अन्य पार्टीलाई मत दिन कांग्रेसका शुभेच्छुकहरु तयार देखिएनन् । त्यसैले चुनावपहिले गठबन्धन नगर्ने कांग्रेसको तयारी सार्वजनिक चासोको विषय बनेको छ । नेपालका अन्य दलहरुले पनि आफ्नै सिद्धान्त, नीति र कार्यक्रमको भरमा एक्लै चुनाव लड्ने प्रतिवद्धता जनाएमा आम मतदाताले दलहरुको वास्तविक शक्ति परिक्षण गर्न पाउने थिए ।

हिन्दू राष्ट्रको मुद्धा

कांग्रेस महासमिति बैठकले हिन्दू राष्ट्रको मुद्दाको स्वामित्व ग्रहण गरेन । तर, १ हजारभन्दा बढी महासमिति सदस्यहरुले धर्मनिरपेक्षता खारेजीको औपचारिक माग प्रस्तुत गरे । संविधानको स्वामित्व लिने सन्दर्भमा हिन्दूराष्ट्रको मुद्दालाई स्थान दिन कांग्रेस नेतृत्वलाई असहज भएपनि पार्टीभित्र हिन्दूत्वको पक्षमा प्रखर अभिमत रहेको तथ्य महासमितिबाट सार्वजनिक भएको छ । अबका दिनमा आमरुपमा चासोका साथ हेरिएको हिन्दू राष्ट्रको मुद्दालाई कांग्रेससहित मूलधारका दलहरुले कुन रुपमा अगाडि बढाउँलान् ? यो महासमितिले प्रश्न छाडेको छ ।

नेपालबाहिरका नेपाली

कांग्रेस महासमिति बैठकमा जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै संसारका विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरु पनि सहभागि थिए । महामन्त्री गगन थापाले सांगठनिक प्रस्तावमार्फत् विदेशमा रहेका नेपालीहरुलाई गोलबन्द र क्रियाशील बनाउने सन्दर्भमा ठोस प्रस्ताव पनि पेश गरेका छन् । कांग्रेसको आर्थिक र समसमायिक प्रतिवेदनमा पनि विदेशमा रहेका नेपालीहरुले पु¥याएको योगदानको स्मरण गरिएको छ । जनसम्पर्क समितिहरुको विश्वमञ्च बनाउने महासमितिको निर्णयले विश्वभर छरिएर रहेका नेपाली लोकतन्त्रवादीहरुलाई निश्चय नै ऊर्जा प्रदान गरेको छ ।

अन्त्यमा,

महासमिति बैठकमा बहस भएका धेरै महत्वपूर्ण विषयहरु सार्वजनिक चर्चामा आएनन् । पार्टी र मुलुकको मूलधारमा महिलाको सहभागिको सवालदेखि भ्रष्टाचारका सन्दर्भमा शून्य सहनशीलताको सवाल कांग्रेस महासमितिमा चर्को स्वरमै मुखरित भएका थिए । मुलुकको ठूलो र पुरानो लोकतान्त्रिक पार्टीका हिसाबले कांग्रेसले आफ्नो नियमित कार्य सम्पन्न गरेको छ । यद्यपि यसका निर्णयहरुलाई कर्मकाण्डी हुन नदिएर सही ढंगले कार्यान्वयन गर्ने ईच्छाशक्ति कांग्रेसले देखाउनुपर्छ । कांग्रेस महासमितिमा भएको आन्तरिक छलफल, बहसले अन्य राजनीतिक दलहरुको नीति निर्माण र आम मतदाताको मूल्यांकन पद्दतिमा पनि पक्कै योगदान गरेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij