२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

भिजिट भिसा प्रकरणमा अध्यागमन अधिकृतसहित चार जना पुर्पक्षका लागि थुनामा

भिजिट भिसा प्रकरणमा अध्यागमन अधिकृतसहित चार जना पुर्पक्षका लागि थुनामा

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा जिल्ला अदालत काठमाडौंले अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

मंगलबार थुनछेक बहसपछि न्यायाधीश कपिलमणी गौतमको इजलासले अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यो प्रकरणमा मुछिएका अन्य ६ जनासँग धरौटी माग गरिएको छ ।

अदालतले खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव, मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यसै प्रकरणमा पक्राउ परेका गीता शाहसँग ५ लाख रुपैयाँ, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख तथा रविन अर्यालसँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ ।

भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध चलाइएको मुद्दामा यस्तो आदेश आएको हो ।

यही माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij