२०८३ मंसिर २ मंगलबार

Nov 17 2026 Tuesday

२०८३ मंसिर २ मंगलबार

तनहुँमा वन अतिक्रमण हटाएर १.७५ हेक्टर क्षेत्रमा टिमुरखेती

तनहुँमा वन अतिक्रमण हटाएर १.७५ हेक्टर क्षेत्रमा टिमुरखेती

दमौली  । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको अतिक्रमित क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ।

डिभिजन वन कार्यालय तनहुँले वन क्षेत्रको अतिक्रमण हटाएर एक दशमलव ७५ हेक्टर जमिनमा टिमुरका बिरुवा रोपेको हो। अतिक्रमित क्षेत्र पहिचान गरी रेखाङ्कन तथा पोल गाडेर छुट्याएपछि उक्त क्षेत्रमा वृक्षरोपण गरिएको कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार अतिक्रमण हटाएर खाली गराइएको वन क्षेत्रलाई उत्पादनशील बनाउने उद्देश्यले टिमुरखेती सुरु गरिएको हो।

वन क्षेत्रको संरक्षण तथा अतिक्रमण नियन्त्रणसँगै टिमुरखेतीबाट भविष्यमा स्थानीयस्तरमा आम्दानीको स्रोतसमेत सिर्जना हुने अपेक्षा गरिएको उनले बताए।

कार्यालयका अनुसार तनहुँमा ६२४ सामुदायिक वन रहेका छन्। ती वनको कुल क्षेत्रफल ६४ हजार ८४२ दशमलव ४८ हेक्टर छ। यस्तै, जिल्लामा दुई हजार ५६ दशमलव ५६ हेक्टर क्षेत्रफलमा ४८५ कबुलियती वन रहेका छन्।

त्यसैगरी ३० दशमलव ६२ हेक्टरमा ११ धार्मिक वन र ४२ दशमलव ३२ हेक्टरमा ८४ निजी वन रहेका छन्। जिल्लामा राष्ट्रिय वनको क्षेत्रफल १८ हजार १४० दशमलव ३४ हेक्टर रहेको डिभिजन वन कार्यालयले जनाएको छ।

वन क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको प्रमुख रानाभाटले बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij