काठमाडौं । नेपाल प्रहरीले ५.५ किलो सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय लागुऔषध कारोबारी गिरोहका मुख्य व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र, पुणेका ५२ वर्षीय रेवराज तिघारे रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार उनी थाइल्यान्डबाट कात्तिक २८ गते नेपाल आएका थिए।
विमानस्थलमा शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनको गतिविधि शंकास्पद देखेपछि जाँच गरेको थियो। सो क्रममा उनले ल्याएको लगेजभित्र खरायो र बिरालोको खानाका प्याकेटमा लुकाएर राखिएको ५.५ किलोग्राम सेतो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ रहेको छ। उक्त हेरोइन भारत पु¥याइएको अवस्थामा त्यहाँ अझ महँगो मूल्यमा बिक्री हुने अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा तिघारे यसअघि पनि दुई पटक नेपाल आएको खुलेको छ। उनी सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएको र पहिलो पटक हवाई तथा दोस्रो पटक स्थलमार्ग हुँदै भारतसम्म लागुऔषध पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ।
उनले लाओससहित जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको पाइएको छ। उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालमा मुख्य भूमिकामा रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
प्रहरीले उनको साथबाट एक थान पासपोर्ट, एक थान मोबाइल र मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद गरेको छ।
लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार बरामद परिमाणको हेरोइन कारोबारमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय तथा पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्यूरोले जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij