काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रिसोर्टमा विदेशी नागरिकहरूले शंकास्पद गतिविधि गरिरहेको भन्ने स्थानीयको जनगुनासोपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले रिसोर्टमा छापा मारेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ३ बजे प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको संयुक्त टोलीले रिसोर्टमा जाँच गरेको थियो ।
जाँचका क्रममा ३१ जना पुरुष र ५ जना महिला गरी ३६ जना चिनियाँ नागरिक फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको प्रहरीले जनाएको छ ।
रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइलसमेत फेला परेको छ । ती सामग्री के प्रयोजनका लागि प्रयोग भइरहेका थिए भन्नेबारे भने प्रहरीले खुलाएको छैन ।
नियन्त्रणमा लिइएका चिनियाँ नागरिकको गतिविधि, उनीहरूसँग फेला परेका विद्युतीय उपकरण तथा घटनाको अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij