काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले छठ पर्व सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक भएको बताएका छन् ।
उनले छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै ऋग्वेदमा उषा देवीको स्तुति गरिएको र वैदिक परम्परामा प्रकाश, ऊर्जा तथा नवजीवनकी प्रतीकका रूपमा उषा देवीको आराधना गरिने बताएका छन् ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उनको भनाइ छ ।
सभापति थापाले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन् । उनले छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्दै पर्वको शुभकामना दिएका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij