२०८३ मंसिर १ सोमबार

Nov 16 2026 Monday

२०८३ मंसिर १ सोमबार

स्टेयरि ङ ह्वी ल नै नभएको का र आउँदै: चा लकवि ही न युगले परि वा रको जी वन कसरी बदल्ला ?

स्टेयरि ङ ह्वी ल नै नभएको का र आउँदै: चा लकवि ही न युगले परि वा रको जी वन कसरी बदल्ला ?

लेखक: विमल नेपाल | अस्टिन, टेक्सस |

तपाईंले कहिल्यै सोच्नुभएको छ, तपाईंको कारमा स्टेयरिङ ह्वील पनि नहोस्, ब्रेक र एक्सिलेटरको पेडल पनि नहोस्, अनि तपाईं पछाडिको सिटमा आरामले कफी पिउँदै वा मोबाइल चलाउँदै अफिस पुग्नुहोस्? सुन्दा साइन्स फिक्सन फिल्मको कथा जस्तो लागे पनि अब यो वास्तविकता बन्दैछ।

टेस्लाको नयाँ कार

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले स्टेयरिङ ह्वील र पेडलसमेत नभएको पूर्ण रूपमा चालकविहीन कार सर्वसाधारणका लागि बजारमा ल्याउने तयारी गरेको छ। यो कार दुई सिटे ‘साइबरक्याब’ (Cybercab) नामले चिनिन्छ। कम्पनीका प्रमुख एलोन मस्कले यस्तो कार करिब ३० हजार डलरमा उपलब्ध गराउने बताउँदै आएका छन्, र अमेरिकी सञ्चारमाध्यमका अनुसार यसको उत्पादन सुरु भइसकेको छ।

तर स्टेयरिङ र पेडल नभएका सवारी बिक्री गर्न अमेरिकाको सङ्घीय सुरक्षा मापदण्डअनुसार विशेष छुट वा नियामकीय स्वीकृति चाहिन्छ। टेस्लाकी सञ्चालक समिति अध्यक्षले आवश्यक परे स्टेयरिङ र पेडल राख्न सकिने सङ्केत पनि दिइसकेकी छन्। त्यसैले यो कार सर्वसाधारणले कहिलेदेखि र कुन रूपमा पाउँछन् भन्ने कुरा नियामक निकायको निर्णयमा भर पर्नेछ।

के चालकविहीन प्रविधि मानिसभन्दा सुरक्षित छ?

सडक दुर्घटनाको प्रमुख कारण नै मानवीय त्रुटि हो: रक्सी पिएर गाडी चलाउने, तीव्र गति र चलाउँदा फोन चलाउने जस्ता कारणले अमेरिकामा हरेक वर्ष ठूलो सङ्ख्यामा मानिसको ज्यान जान्छ। प्रविधिले न रक्सी पिउँछ, न त यसको ध्यान भड्किन्छ। टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ (FSD) प्रणालीमा जडान गरिएका आठवटा क्यामेरा र कम्प्युटर भिजन एआईले चौतर्फी नजर राख्छन्।

टेस्लाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार FSD प्रयोग गर्दा औसतमा करिब ५१ लाख माइलमा एक पटक ठूलो टक्कर हुन्छ। अमेरिकाको औसत भने करिब ६ लाख ९९ हजार माइल हो। यो हिसाबले FSD करिब सात गुणा सुरक्षित देखिन्छ।

तर यो दाबीमाथि स्वतन्त्र विज्ञहरूले प्रश्न उठाएका छन्। आलोचकहरूका अनुसार तथ्याङ्क टेस्लाले आफैँले तयार पारेको हो, FSD प्रायः सजिलो सडकमा चल्छ, र तुलना धेरै पुराना गाडीसँग गरिएको छ। FSD अहिले पनि चालकको निगरानी (Supervised) मा चल्छ। यसैबीच अमेरिकी सडक सुरक्षा निकाय NHTSA ले FSD सम्बन्धी छानबिन पनि गरिरहेको छ। त्यसैले पूर्ण चालकविहीन कार सुरक्षित भएको कुरा स्वतन्त्र र पारदर्शी तथ्याङ्कबाट प्रमाणित हुन बाँकी छ।

मेरो परिवारको उदाहरण: चारवटा कारको सट्टा एउटै कार

म अहिले अमेरिकाको टेक्सस राज्यको अस्टिनमा बस्छु। हाम्रो चार जनाको परिवार छ, र सबैको आआफ्नै काम र समय भएकाले घरमा चारवटै गाडी राख्नुपरेको छ। तर अब मेरो अर्को कार पूर्ण रूपमा अटोमेसन भएको यस्तै इलेक्ट्रिक कार हुनेछ।

कल्पना गर्नुहोस् त, अबको दिनचर्या कस्तो हुनेछ। बिहान मलाई अफिसमा छोडेर गाडी आफैँ घर फर्किनेछ। त्यसपछि मेरी श्रीमतीलाई पिकअप गरेर उहाँको कामसम्म पुर्‍याइदिनेछ। दिउँसो छोराछोरीलाई कलेज वा स्कुल पुर्‍याउने, कसैलाई अस्पताल वा डाक्टरको एपोइन्टमेन्टमा लैजाने काम एउटै कारले पूरै परिवारको तालिका अनुसार गरिदिनेछ। चारवटा गाडी किन्ने, इन्सुरेन्स तिर्ने र मर्मत गर्ने झन्झट सकिनेछ।

पार्किङ र ट्राफिकको समस्या

सहर वा सपिङ मल जाँदा सबैभन्दा ठूलो टाउको दुखाइ पार्किङको हुन्छ। चालकविहीन कार भएपछि तपाईंलाई छोडेर गाडी आफैँ घर फर्किनेछ, अनि मोबाइलबाट बोलाउनासाथ ढोकामै आइपुग्नेछ। यसले ठूला पार्किङ लट बनाइरहनुपर्ने बाध्यता घटाउँछ, र प्रत्येक व्यक्तिका लागि छुट्टाछुट्टै गाडी सडकमा नगुड्ने भएपछि ट्राफिक जाम पनि कम हुन सक्छ।

निष्कर्ष

प्रविधिले गाडीलाई ‘हामीले चलाउने साधन’ बाट ‘हामीलाई सेवा दिने स्मार्ट साथी’ मा बदल्दैछ। सुरक्षा, नियामकीय स्वीकृति र वास्तविक मूल्यका प्रश्नहरू अझै बाँकी छन्, तर यो भविष्य अब धेरै टाढा छैन।

तपाईंलाई के लाग्छ, स्टेयरिङ ह्वील नभएको कारमा बसेर यात्रा गर्न तपाईं कत्तिको तयार हुनुहुन्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला।

विमल नेपाल नेपाली-अमेरिकी पत्रकार, फोटो पत्रकार तथा लेखक हुनुहुन्छ। नेपालको आर्थिक पत्रकारिताबाट व्यावसायिक यात्रा सुरु गर्नुभएका नेपालले अमेरिकाका विभिन्न सञ्चारमाध्यममा समेत काम गर्नुभएको छ। उहाँका तस्बिरहरू नेसनल जियोग्राफिक र बोस्टन ग्लोब लगायतका सञ्चारमाध्यममा प्रकाशित छन्। फोटोग्राफी र दृश्य कथावाचनसँगै उहाँ समसामयिक सामाजिक, राजनीतिक र आर्थिक विषयमा आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गर्न रुचाउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij