२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

माइक्रोसफ्टका सेवा विश्वभर ठप्प, आउटलुक र टिम्समा ठूलो अवरोध

माइक्रोसफ्टका सेवा विश्वभर ठप्प, आउटलुक र टिम्समा ठूलो अवरोध

बीबीसी । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका विभिन्न सेवा विश्वभर प्रभावित भएका छन् । बिहीबार भएको प्राविधिक समस्याका कारण माइक्रोसफ्ट टिम्स, आउटलुक र कृत्रिम बुद्धिमत्ता (एआई) सेवा कोपाइलट सञ्चालनमा अवरोध आएको हो ।

माइक्रोसफ्टका अनुसार सर्भरहरू अप्रत्याशित रूपमा अनुपलब्ध भएपछि बाँकी प्रणालीमा समेत चाप बढ्दा सेवा प्रभावित भएको हो । कम्पनीले समस्या समाधानका लागि तीव्र रूपमा काम भइरहेको जनाएको छ ।

सेवा अवरोध निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार बिहीबार अन्तर्राष्ट्रिय समयअनुसार साँझ ६ बजे आउटलुकमा समस्या आएको भन्दै रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या करिब एक लाख ४० हजार पुगेको थियो ।

अमेरिका, जापान र सिंगापुरलगायत विभिन्न देशका प्रयोगकर्ताले सेवा प्रयोगमा समस्या भोगेको बताएका छन् । माइक्रोसफ्ट ३६५ अन्तर्गतका सेवामा आएको अवरोधले विशेषगरी कार्यालय तथा व्यावसायिक काम प्रभावित भएका छन् ।

माइक्रोसफ्टका अनुसार प्रयोगकर्ताले केही फाइल हेर्न तथा क्यालेन्डरमा रहेका विवरण पहुँच गर्न समस्या भोग्न सक्छन् । कोपाइलट एआई सेवाले पनि अपेक्षाअनुसार काम नगर्न सक्छ । यद्यपि सन्देश आदानप्रदान र अनलाइन बैठकका सेवा भने अधिकांश अवस्थामा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले सामाजिक सञ्जाल एक्समार्फत सेवा अवरोधको असर कम गर्न सबै सम्भावित उपाय अपनाइरहेको जनाएको छ । केही सेवा पुनः सञ्चालनमा आए पनि फेरि प्रतिक्रिया दिन छाड्न सक्ने चेतावनी माइक्रोसफ्टले दिएको छ । कुनै पनि क्षेत्रका प्रयोगकर्ता प्रभावित हुन सक्ने कम्पनीको भनाइ छ ।

बीबीसीका अनुसार उक्त सेवा अवरोध साइबर आक्रमणका कारण भएको कुनै संकेत देखिएको छैन । माइक्रोसफ्टले ग्राहकसँग धैर्य गर्न आग्रह गर्दै सकेसम्म छिटो सबै सेवा सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij