२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

तिहारको पाँचौँ दिन आज भाइटीकाः उत्तम साइत बिहान ११ः०७ बजे

तिहारको पाँचौँ दिन आज भाइटीकाः उत्तम साइत बिहान ११ः०७ बजे

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ।

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने र गच्छेअनुसार उपहार वा दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ।

भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत नै खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार सर्वसाधारणका लागि आज दिनभर टीका लगाउन कुनै बाधा छैन, तर राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।

टीका लगाउँदा कुन दिशा फर्कने ?

यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन्। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए।

भाइटीकाका दिन दियो, कलश र गणेशको पूजा गर्दै अष्टचिरञ्जीवी (मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम) का साथै यमराज र यमुनाको पूजा आराधना गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने तथा ओखर, कटुस, मरमसला र सेलरोटीलगायतका परिकार दिने चलन छ।

बालगोपालेश्वर मन्दिर खुला

दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहनेछ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा पुगेर पूजा, दर्शन गरी टीका लगाउने प्रचलन छ। काठमाडौं महानगरपालिकाका अनुसार भक्तजनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।

संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा तथा दर्शन गरी टीका लगाउने पुरानो प्रचलन छ।

यसैबीच, नेवार समुदायले भाइटीकाको दिनलाई ‘किजापूजा’ का रूपमा मनाउने गर्छन्। कुल परम्पराअनुसार कसैले आज र कसैले अघिल्लो दिन नै किजापूजा गर्ने चलन छ। भक्तपुरका तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार त्यहाँका अधिकांश नेवार समुदायले भने हिजो नै किजापूजा सम्पन्न गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij