बेइजिङ । कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार निर्माणमा विश्वव्यापी प्रतिस्पर्धा बढेसँगै चीनको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। यसले चालु वर्षको पहिलो १० महिनामै चीनको व्यापार बचत १ ट्रिलियन अमेरिकी डलर नाघेको छ।
चिनियाँ भन्सार प्रशासनले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा चीनको निर्यात गत वर्षको सोही महिनाको तुलनामा अमेरिकी डलरमा ३५.२ प्रतिशतले बढेको छ। सेप्टेम्बरमा निर्यात वृद्धि ३६.३ प्रतिशत थियो।
अक्टोबरको निर्यात वृद्धि अर्थशास्त्रीहरूले गरेको ३३.५ प्रतिशतको अनुमानभन्दा बढी हो। उच्च प्रविधिका सामग्री तथा एआई पूर्वाधार निर्माणमा आवश्यक उत्पादनको विश्वव्यापी मागले चीनको निर्यातलाई गति दिएको हो।
यससँगै जनवरीदेखि अक्टोबरसम्म चीनको व्यापार बचत १.०४ ट्रिलियन अमेरिकी डलर पुगेको छ। लगातार दोस्रो वर्ष चीनको व्यापार बचत १ ट्रिलियन डलर नाघेको हो। गत वर्षको तुलनामा यस वर्ष एक महिनाअघि नै उक्त आँकडा पार भएको छ।
चीनको निर्यातमा भएको तीव्र वृद्धिले कमजोर आन्तरिक उपभोग र लामो समयदेखि जारी घरजग्गा क्षेत्रको मन्दीबाट प्रभावित अर्थतन्त्रलाई बाह्य मागमार्फत सहयोग पुगेको छ।
तर निर्यातमा बढ्दो निर्भरताले चीनको आन्तरिक आर्थिक असन्तुलन थप गहिरिने र प्रमुख व्यापार साझेदारहरूसँग तनाव बढ्ने जोखिम पनि देखिएको छ।
विशेषगरी युरोपेली सङ्घ (ईयू) सँग चीनको व्यापार तनाव थप चर्किन सक्ने देखिएको छ। ईयूका नेताहरूले चीनबाट हुने आयातमा थप नियन्त्रण लगाउनुपर्ने माग गर्दै आएका छन्।
हालै चीन र ईयूबीच चिनियाँ हाइब्रिड सवारीसाधनको निर्यात सीमित गर्ने विषयमा सहमति भएको छ। यद्यपि, उक्त व्यवस्था कार्यान्वयनमा आउन बाँकी रहेकाले चिनियाँ उत्पादकहरूले त्यसअघि नै सामान पठाउने तयारी गर्दा निकट भविष्यमा निर्यात थप बढ्न सक्ने अनुमान गरिएको छ।
विश्वव्यापी एआई पूर्वाधारमा भइरहेको लगानीका कारण सन् २०२७ सम्म चिनियाँ प्रविधिजन्य उत्पादनको माग बलियो रहने अपेक्षा गरिएको छ। तर यसले चीन र उसका प्रमुख व्यापार साझेदारबीच व्यापारिक विवाद थप बढाउन सक्ने जोखिम रहेको विश्लेषण गरिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij