२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

आहा रारा पोखरा गोल्डकपमा अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित

आहा रारा पोखरा गोल्डकपमा अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित

कास्की । पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँगको खेल २–१ गोल अन्तरले जित्दै मनाङ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

एपिएफले पहिलो हाफमा बनाएको एक गोलको अग्रता बनाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरियो । एपिएफले खेलको ११औँ मिनेटमा युवराज राईको गोलबाट खेलमा अग्रता लिएको थियो । दोस्रो हाफमा मनाङ लयमा फर्कियो । खेलको ५७औँ मिनेटमा रोनिश राजभाकले गोल गरेर खेल बराबरीमा ल्याए ।

यसैगरी, खेलको ७७औँ मिनेटमा सुरेश कुमालले निर्णायक गोल गरेपछि खेलको नतिजा मनाङले आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतियोगितामा शुक्रबार फ्रेन्डस् क्लब र प्लानिङ ब्वाइज युनाइटेडकाबीच खेल हुनेछ । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीको सहभागिता छ ।

प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजार र उपविजेता टोलीले सात लाख एक हजार नगद र ट्रफी पुरस्कार पाउने छन् । सहाराले यस वर्ष प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेको हो ।

गत वर्ष उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij