२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि नर्वेका एन्डर्सलाई

‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि नर्वेका एन्डर्सलाई

 

कास्की । कास्कीमा सम्पन्न तेस्रो संस्करणको ‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि नर्वेका एन्डर्स लङसेटले जितेका छन् ।  हिमालयन एक्सट्राईको आयोजनामा यही वैशाख २९ र ३० गते विश्वकै कठिनमध्येको मानिने प्रतियोगिता आइतबार सम्पन्न भएको हो । प्रतियोगिताको उपाधि विजेता एन्डर्सले निर्धारित एक सय ७५ किमी साइक्लिङ र ४३ किलोमिटर लामो पर्यतीय दौड १६ घन्टा २३ मिनेट २६ सेकेन्डमा पूरा गरे ।

यसैगरी, पुरुषतर्फ काजाकास्तानका रुस्लान एर्जानोभले निर्धारित दूरी पूरा गर्न १६ घन्टा ४७ मिनेट ४४ सेकेन्डको समय लगाउँदै द्वितीय भए । काजाकस्तानकै गालिम चाउशेभले निर्धारित दूरी १८ घन्टा ३७ मिनेट पाँच सेकेन्डमा पूरा गरी तृतीय बनेको इभेन्ट डाइरेक्टर दिवस योन्जनले जानकारी दिए।

महिलातर्फ भने एक मात्र किर्गिस्तानकी खेलाडी आनासताशिला बारानोभाले दौड पूरा गरिन् । उनले निर्धारित दूरी पार गर्न १८ घन्टा ५६ मिनेट ३१ सेकेन्डको समय लगाइन् । एक्सट्रिम ट्रायथलनमा विभिन्न २५ देशका ३६ देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता अन्तर्गत एक सय ७५ किलोमिटर साइकल दौड पोखराको लेकसाइडबाट सुरु भएर सराङकोट–पर्वतको सदरमुकाम कुश्मा–बागलुङ कालिकामन्दिर हुँदै पुनः फर्किएर कास्कीको लुम्ले काँडेमा पुगेर सम्पन्न भएको थियो ।

यसैगरी, ४३ किलोमिटर दौड काँडेबाट सुरु भएर अस्ट्रेलियन क्याम्प, देउराली, हाई—क्याम्प, लोक्याम्प, मर्दी हिमाल भ्यूप्वाइन्ट (चार हजार तीन सय मिटर) छोएर सोही बाटो हुँदै फर्किएर माछापुच्छ«े गाउँपालिका–८ को ल्वाङमा पुगेर सम्पन्न भएको थियो ।

प्रतियोगिताअन्तर्गतको फेवातालमा तीन किलोमिटर आठ सय मिटर पौडी भन्ने प्रतिकूल मौसमका कारण स्थगन गरेर साइक्लिङ र दौड दुई विधामात्र सञ्चालन गरिएको थियो । हिमालयन एक्सट्रिम ट्रायथलनको पोखरामा शनिबार बिहान पूर्वप्रधानमन्त्री झलनाथ खनालले शुभारम्भ गरेका थिए । प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रियरुपमा साहसिक खेलकुदको गन्तव्यका रुपमा विकास गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij