२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

स्ट्रेट अफ होर्मुजमा तनाव, इरानद्वारा तीन तेल ट्याङ्कर नियन्त्रणमा

स्ट्रेट अफ होर्मुजमा तनाव, इरानद्वारा तीन तेल ट्याङ्कर नियन्त्रणमा

इरान । ओमानले आक्रमणबाट आगलागी भएको व्यापारिक जहाजबाट २५ जना चालक दलका सदस्यको उद्धार गरेको छ । यसैबीच, इरानले स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीनवटा तेल ट्याङ्कर रोकेको जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुजमा तनाव बढ्दै गएको छ ।

ओमानको समुद्री सुरक्षा केन्द्रका अनुसार पानामाको झण्डा बोकेको ‘आरआईटीआई’ नामक व्यापारिक जहाजमाथि आक्रमण भएपछि आगलागी भएको थियो । त्यसपछि ओमानी नौसेनाले जहाजमा रहेका २५ जना चालक दलका सदस्यको उद्धार गरेको हो । उनीहरूलाई आवश्यक स्वास्थ्य उपचारसमेत प्रदान गरिएको केन्द्रले जनाएको छ । समुद्री जहाज ट्र्याकिङ वेबसाइट मरिन ट्राफिकका अनुसार उक्त जहाज कच्चा तेल बोक्ने ट्याङ्कर हो ।

यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख ब्राड कूपरले अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजको अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेका समुद्री बारुदी सुरुङ हटाएको बताएका छन् । उक्त जलमार्गलाई खुला र सुरक्षित राख्न अमेरिकी सेना तैनाथ रहेको उनको भनाइ छ ।

बेलायती समुद्री सुरक्षा निकाय (युकेएमटीओ) का अनुसार शुक्रबार इरानको लाभान टापुबाट करिब ७४ किलोमिटर दक्षिणमा रहेको अर्को जहाजमा अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको थियो । जहाजका चालक दलका सदस्य सुरक्षित रहेको र वातावरणीय क्षतिको कुनै खबर प्राप्त नभएको निकायले जनाएको छ ।

इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले भने अनधिकृत मार्ग प्रयोग गरेको आरोपमा तीनवटा तेल ट्याङ्कर रोकेको जनाएको छ । ती जहाजले नेभिगेसन तथा आफ्नो अवस्थिति पहिचान गर्ने प्रणाली बन्द गरेर इरानी चेतावनी बेवास्ता गरेको गार्ड्सको आरोप छ ।

इरानका अनुसार तीमध्ये एउटा ट्याङ्करमा २० लाख ब्यारेल तेल रहेको थियो । उक्त ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागी भएको पनि इरानले जनाएको छ ।

इरानले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजले आफूले तोकेको मार्ग प्रयोग गर्नुपर्ने र यात्राबारे इरानी सेनासँग समन्वय गर्नुपर्ने अडान राख्दै आएको छ । इरानले उक्त जलमार्गमा लगाएको अवरोधको जवाफमा अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ । यसले इरानको तेल निर्यात र व्यापारिक गतिविधिमा थप अवरोध सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij