वासिङ्टन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको पराजयको मुख्य कारण इरान युद्ध भएको बताएका छन् । उनको अभिव्यक्तिलाई राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दूरी बढाउने र सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो राजनीतिक आधार तयार गर्ने प्रयासका रूपमा हेरिएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै भान्सले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई समर्थन गरेका मतदाताले यसपटक रिपब्लिकन पार्टीलाई साथ नदिएको स्वीकार गरे । ‘हामीले हार्नुको कारण युद्ध हो । स्वयं राष्ट्रपतिले पनि हिजो राति यही कुरा भन्नुभएको थियो,’ भान्सले लेखेका छन् ।
मंगलबार राति र बुधबार विभिन्न सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा ट्रम्पले इरान युद्धको बचाउ गरे पनि त्यसले अमेरिकी प्रतिनिधिसभा र सिनेटमा डेमोक्रेटिक पार्टीको नियन्त्रण स्थापित हुन भूमिका खेलेको स्वीकार गरेका थिए ।
इरान युद्धबारे भान्सको असन्तुष्टि वासिङ्टनको राजनीतिक वृत्तमा नयाँ विषय होइन । गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि उनले सार्वजनिक रूपमा युद्धको समर्थन गर्दै आएका थिए । तर, प्रशासनका अधिकारीहरूसँगका आन्तरिक बैठकमा उनले युद्धप्रति असहमति जनाउँदै आएको खबर सार्वजनिक हुँदै आएको थियो ।
यसअघि उनका ती असहमतिहरू सार्वजनिक भएका थिएनन् । तर, निर्वाचनमा ट्रम्प र रिपब्लिकन पार्टीले ठूलो धक्का व्यहोरेको केही घण्टापछि भान्सले युद्धमा जाने निर्णयलाई राजनीतिक रूपमा गम्भीर गल्ती भएको स्पष्ट संकेत दिएका छन् ।
‘यदि तपाईंलाई आगामी ६ वर्षसम्म सिनेट गुमाउनु पनि युद्धको उचित मूल्य थियो भन्ने लाग्छ भने त्यसको पक्षमा तर्क गर्नुस् । यो मूल्य चुकाउनु सार्थक थियो भनेर प्रमाणित गर्नुस् । सहमत वा असहमत हुन सकिन्छ, तर कम्तीमा त्यो इमानदार तर्क हुनेछ,’ उनले भनेका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij