२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

ऐतिहासिक ओगानेम क्षेत्रको अध्ययन सुरु

ऐतिहासिक ओगानेम क्षेत्रको अध्ययन सुरु

सल्लेरी ।सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लीस्थित ऐतिहासिक ओगानेम (दरबार) क्षेत्रको अध्ययन अनुसन्धान सुरुआत गरिएको छ । दूधकोशी गाउँपालिकाले उक्त क्षेत्रको अध्ययन थालनी गरेको हो ।

थुलुङ दूधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले दरबार क्षेत्रको अध्ययन अनुसन्धान तथा पर्यटन विकास गर्न अन्तक्र्रियासमेत सम्पन्न गरेको बताए । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा भएको कार्यक्रमको संस्कृतविद् डा चन्द्र हतुवाली र पर्यटनविद् डा हरिध्वज राईले सहजीकरण गएका थिए।

थुलुङहरूको उद्गम थलोका रूपमा लिइने मुक्लीमा ऐतिहासिक ओगानेम दरबारको भग्नावशेष रहेको बताइएको छ । दरबारको विस्तृत अध्ययन नहुँदा ओझेलमा परेको स्थानीयवासी जगत्बहादुर राईले बताए । खनजोत गर्ने क्रममा दरबार निर्माणमा प्रयोग भएका ढुङ्गा तथा केही महत्त्वपूर्ण भग्नावशेष फेला परे पनि यसबारे अध्ययन नभएको अर्का स्थानीयवासी धनकुमार राईले जानकारी दिए । “हामीले नै दरबारको गारो देखेका हौँ, खनजोत गर्दा कुदिएका ठूलाठूला ढुङ्गा भेटियो, अन्य सामग्रीसमेत पाइन्थ्यो”, उनले भने, “ तत्कालीन रामलीहाङ राजा र ओगानेम दरबारका बारेमा धेरै सुनेको भए पनि आधिकारिक अध्ययन थिएन, अब सुरु भयो हामी सबै एक भएर लागौँ ।”

समाजसेवी धन्दीराम राईले दरबार क्षेत्र र त्यस आसपासका जग्गाको अवस्था हेर्दा र पुर्खाको कुरा सुन्दा मिल्दोजुल्दो पाइएको जानकारी दिए । उनले भने, “त्यसबेलाका सेनाले परेड खेल्नेलगायतका ठाउँ देखिएको भए पनि पछिल्लो समय यसको संरक्षण अभावमा नष्ट हुँदै गयो ।”

थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईले विभिन्न शब्दावलीदेखि अन्य धेरै क्षेत्रमा अपभ्रंश हुँदै गएकाले अध्ययनको पाटोलाई फराकिलो बनाउनुपर्ने सुझाव दिए । ‘¥योम्ली हब ’नाम रहनुपर्ने भए पनि अपभ्रंश भएर रामलिहाङ भन्ने गरिएको उनको दाबी छ । पाँचौँ शताब्दीसम्म रामलिहाङ राजाले सत्ता सञ्चालन गरेको भन्ने सुनेकोे थुलुङ अगुवा अचम्मसिं राईले जानकारी दिए ।

यस्तै थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिमले लुम्बिनीमा बुद्धिष्ट, पशुपति क्षेत्रमा हिन्दूहरूको केन्द्र भएजस्तै थुलुङ राईहरुको केन्द्र थुलुङ दूधकोशीको मुक्ली हुने विश्वास व्यक्त गरे ।

ऐतिहासिक ओगानेम दरबार क्षेत्रको अध्ययनले इतिहासको दस्तावेजीकरणसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन मद्दत गर्ने भन्दै अध्यक्ष राईले यसको विकासमा सबैको भूमिका सकारात्मक हुनुपर्नेमा जोड दिए ।

यसअघि पनि ओगानेम दरबारसम्बन्धी केही अध्ययन सार्वजनिक भए पनि सरकारी तवरबाट अध्ययन सुरु गरिएको यो पहिलो पटक हो । थुलुङ दूधकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख बजेट नै व्यवस्था गरी यसको खोज तथा अनुसन्धान गर्ने कार्यक्रम निर्माण गरेको थियो ।

गाउँपालिका अध्यक्ष राईले ऐतिहासिक ओगानेम दरबार क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सङ्घीय सरकारले सहयोग गर्नुपर्छ भने । यस वर्ष पर्यटन मन्त्रालयले रु १० लाख बजेट व्यवस्था गरेर अध्ययन सुरु गरेको छ । पुरातत्व विभागसँगको सहकार्यमा मन्त्रालयले काम सुरु गरिसकेको प्रवक्ता कार्कीले जानकारी दिए । एक टोलीले केही दिनअघिमात्रै स्थलगत अध्ययन गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij