काठमाडौं । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने भएका छन्। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ र नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरी आगलागी वा पानीले भिजेर नागरिकता नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्ने जनाएको छ।
गृह मन्त्रालयको कात्तिक ९ गतेको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा प्रवाह सहज बनाउन तीन जिल्ला प्रशासन कार्यालयबाट प्रदेशगत रूपमा सेवा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं वा त्यसअन्तर्गतका कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकलाई सेवा दिइनेछ। जिल्ला प्रशासन कार्यालय ललितपुर वा त्यसअन्तर्गतबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई सेवा उपलब्ध गराइनेछ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुर वा त्यसअन्तर्गतका कार्यालयबाट कोशी र मधेस प्रदेशका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्नेछन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा प्रतिलिपिका लागि निवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको विवरणसँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिने सूचनामा उल्लेख छ।
तर, प्रणालीमा अभिलेख नभिडेको, साविकको नागरिकतामा भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन खोजेको तथा प्रथम दृष्टिमै शंकास्पद देखिएका नागरिकता प्रमाणपत्रवाहकलाई भने नागरिकता जारी भएको साविककै जिल्लामा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij