मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । मंसिर ३० गते राति करिब १ः४५ बजे इलाका प्रहरी कार्यालय चित्लाङको चेकपोस्टमा प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा चरेस बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको टोलीले बा.प्र.०१–०३५ च ४५६१ नम्बरको जिप रोकेर जाँच गर्दा उक्त परिमाणको चरेस फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले जिप चालक हेविन श्रेष्ठ र जिपमा सवार दिव्याश्री काफ्लेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ घर भई हाल बनेपा–८ बस्ने ३३ वर्षीय श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल भरतपुर–२ बस्ने २१ वर्षीया काफ्ले रहेका छन् । बरामद चरेस र पक्राउ परेका दुवै जनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij